२२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा एकसातामै १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
निशेधाज्ञा हटेसँगै काठमाडौंका बजारमा मानिसको चहलपहल बढीरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूरा पालन नगरिएका कारण संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको कारण संक्रमितको संखया ह्वात्तै बढेको विहिबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा बताएका छन् ।
त्यस्तै विभिन्न ठाउँबाट काठमाडौं भित्रिएका मानिसहरु कम्तिमा दुई सातासम्म क्वारेन्टिनमा बसेर मात्र आफ्नो काममा फर्कनुपर्ने मापदण्ड भएपनि खासै मापदण्ड पालना नगरिएको पाइएको प्रवक्ता डा. गौतमले बताए ।
‘नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार नाघिसकेको छ । हामीले प्राय अस्पतालहरु भरिएको पाएका छौं । किनकी मानिसहरु सामान्य रुघाखोकी र हल्का ज्वरो आउने वित्तिकै कोरोना लागेको हो कि भनेर चिन्तित बनेर स्वास्थ्य संस्था जानेको संख्या पनि अत्यधिक बढिरहेको छ,’ डा गौतमले भने, ‘यसकारण आत्तिएर अस्पताल जाँदा स्वास्थ्य जटिल अवस्था हुनेले उपचार नपाउने सम्भावना हुन सक्छ । अस्पताल जाने आउने क्रममा संक्रमण हुन सक्ने सम्भावना निकै नै बढी हुन्छ ।’
डा. गौतमले प्रत्येक नागरिकको सुरक्षामा संवेदनशील हुँदा हुँदै पनि हरेक व्यक्ति कार्यालय तह र तप्काका आ–आफ्नो क्षेत्रबाट सहयोग नगरे यो महामारी नियन्त्रण गर्न सम्भव नहुने भन्दै सबैलाई जिम्मेवार रहन आग्रह गरेका छन् ।
हेर्नुहोस् यस्तो छ नेपालमा २२ असोज सम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज २२ बिहीवार १९:३६ मा प्रकाशित






























