२२ असोज, काठमाडौं । देशैभरी तिब्ररुपमा फैलिएको कोरोना संक्रमणको महामारीका कारण यसपालीको दसैंमा सबै मठमन्दिमा पूजारी मात्र उपस्थित भइ नित्य पूजा गर्न\गराउन अनुरोध गरिएको छ ।
कोरोना संक्रमणको जोखिमललाई मध्येनजर गर्दै सर्वसाधारणले मन्दिरमा गएर पूजापाठ गर्न नपाइने व्यवस्थालाई यथावत राख्दै पूजारीले मात्र नित्य पूजा गर्ने\गराउने व्यवस्था मिलाउन सबै मन्दिर व्यवस्थापन समिति, गुठी, मन्दिर सुधार समिति, स्थानीय सरकार, प्रशासन स्वयम्सेवक, सामाजिक अभियन्ता र धार्मिक गुरुहरु तथा पूजारीहरुलाई अनुरोध गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै दसैं, तिहार, छठ पर्व मनाउनका लागि मानिसहरु विभिन्न देश र सहरबाट गाउँघर फर्कने क्रम बढेसँगै देशैभरीका कुना काप्चामा कोरोना संक्रमण फैलिन सक्ने अर्को पीडा थपिएको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।
‘यस्ता ठाउँहरुमा यातायात, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणको उपलब्धता आदिका कारण संक्रमितको व्यवस्थापन अझै चुनौतीपूर्ण हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘त्यसमा पनि हाम्रा गाउँघरमा दिर्घरोगी, जेष्ठ नागरिक र आफन्तहरुको संख्या ठूलै अनुपातमा भएकाले संक्रमणको प्रभाव निकै नराम्रो पर्न सक्छ ।’
यस्तो अवस्थामा सबै तह र तप्काका व्यक्ति र संस्थाले आफ्नो क्षेत्रमा कोरोना संक्रमण फैलन नदिन तुरुन्तै सक्रिय बन्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै पूजारीले मात्र नित्य पूजा गर्न, सार्वजनिक ठाउँमा लिङ्गे र रोटेपिङ नराख्न, अनावस्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध मन्त्रालयले गरेको छ ।
वि.सं.२०७७ असोज २२ बिहीवार २०:०३ मा प्रकाशित






























