२३ असोज, काठमाडौं। जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिहीबार पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका दुई र कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी रहेको छन् ।
सवारी ज्यान मुद्दामा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ स्थायी घर भई तनहुँको भानु नगरपालिका–१ पुल्चोक बस्ने अविनास बस्याल रहेका छन् । जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते सात महिना कैद सजाय तोकिएका बस्याल डेढ वर्षपछि पक्राउ परेका हुन्। सवारी ज्यान मुद्दामै फरार रहेका बन्दीपुर गाउँपालिका–१ रिमाल्नी बस्ने सुजन खड्गीपनि पक्राउ परेका छन् । खड्गीलाई जिल्ला अदालत तनहुँले विसं २०७५ फागुन २८ गते रु दुई हजार जरिवानाको फैसला गरेको थियो ।
कर्तव्य ज्यान मुद्दामा भानु नगरपालिका–४ बस्ने बेदबहादुर कँडेल पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७३ असोज १० गते रु ५०० जरिवानाको फैसला गरेको थियो । फरार तीन जनालाई नै सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १३:५६ मा प्रकाशित






























