काठमाडौं । सरकारी वार्ता टोलीले वार्ता गर्न वेवास्ता गरेपछि डा. गोविन्द केसी पक्ष समुहले वार्ता सुरु गर्न अल्टिमेटम दिएको छ । केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीका अनुसार सरकारी पक्षलाई ४ बजेसम्मको अल्टिमेटम दिइएको हो ।
‘सत्याग्रहीका मागलाई वेवास्ता गरिएको छ, शुक्रबार बिहानदेखि वार्ता हुने भनिएपनि पूर्णं वेवास्ता गरियो’ डाक्टर क्षेत्रीले भने, ‘अब हाम्रो धैर्यताको बाँध टुट्ने अवस्था बनेको छ, हामी फेरि आन्दोलनमा जान बाध्य हुँदैछौं ।’
उनका अनुसार सरकारी वार्ता टोलीसँग वार्ता गर्नको लागि ४ बजेसम्मको अल्टिमेटम दिइएको छ । डाक्टर क्षेत्रीका अनुसार अल्टिमेटम वेवास्ता गरिए फेरि आन्दोलन सुरु हुन्छ ।
यसअघि बिहिबार दुई पक्षबीच वार्ता भएको थियो । बिहिबारको वार्तामा डाक्टर गोविन्द केसीले राखेका ६ बुँदे मागमा छलफल भएको थियो । जसलाई सरकारात्मक भएको भनि चर्चा पनि गरिएको थियो ।
केसीको अवस्था थप जटिल बन्दै
वार्ता अनिश्चित बन्दै जाँदा अनशनरत डाक्टर गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । २६ दिनदेखि आमरण अनशनरत केसीलाई चक्कर लाग्ने र अक्सिजन निरन्तर चाहिने समस्या देखिएको छ । केसीका सहयोगी प्रितम सुवेदीका अनुसार अहिले बोल्न पनि गाह्रो हुने अवस्था भएको छ ।
डाक्टर केसी चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै गत भदौ गत भदौ २९ देखि अनशनरत छन् । उनले जुम्लाबाट अनशन सुरु गरेका थिए ।
सम्बन्धित समाचार
अनिश्चित बन्यो सरकार र डाक्टर केसी पक्षबीचको वार्ता, केसीको स्वास्थ्य अवस्था थप जटिल
वि.सं.२०७७ असोज २३ शुक्रवार १६:०१ मा प्रकाशित





























