काठमाडौं । सरकारी वार्ता टोली र डाक्टर केसी पक्षबीच सहमती भएको चर्चा अफबा मात्रै भएको डाक्टर केसी पक्षका वार्ता टोली संयोजक डाक्टर जीवन क्षेत्रीले स्पष्ट पारेका छन् । संसार न्यूज अनलाईनसँग कुराकानी गर्दै उनले शुक्रबार हालसम्म सरकारी पक्षसँग कुनै संवाद हुन नसकेको बताए ।
‘हामी संवाद होस् र निकास होस् भन्ने पक्षमा छौं तर, दुःखको कुरा डाक्टर केसी ज्यूको अवस्था गम्भीर हुँदा पनि सरकारले त्यति चाँसो देखाएको छैन्’, डाक्टर क्षेत्रीले भने, ‘सहमती भएको भनेर गरिएको प्रचार अफबा मात्रै हो ।’
उनका अनुसार बिहिबार सरकारी वार्ता टोलीसँग केसीले उठाएका ६ बुँदे मागबारे छलफल भएको थियो । जसबारे शुक्रबार वार्ता गरेर टुंग्याउने भन्ने थियो । तर, वार्ता नभएसँगै सहमतीको विषय अनिश्चित बन्दै गएको छ ।
डाक्टर क्षेत्रीले जनाएअनुसार शुक्रबार साँझसम्म वार्ता हुने सम्भावना छ । ‘उहाँको अवस्था थप जटिल बन्दै गएको छ, यो अवस्थामा सरकार थप जिम्मेवार हुनुपर्छ’ डाक्टर क्षेत्रीले भने, ‘हामी आज बेलुकासम्म बैठक हुने र सहमती हुनेमा आशावादी छौं ।’
शुक्रबार केहि अनलाईन सञ्चार माध्यममा सरकारी वार्ता टोली र डाक्टर केसीका वार्ता टोलीबीच सहमती भएको र केसीले अनशन तोड्दै गरेको समाचार सार्वजनिक गरेका थिए ।
वि.सं.२०७७ असोज २३ शुक्रवार १७:५७ मा प्रकाशित






























