२५ असोज, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
विभागले आज पत्रकार सम्मेलन गरेर दशैं, तिहार तथा छठको बिदामा समेत चाडपर्व लक्षित विशेष टोली बनाएर अनुगमन गर्ने भएको हो ।
बिदाका दिनमा समेत अनुगमन गर्ने गरी विभागले काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा गुनासो तथा उजुरी सम्बोधन र बजार अनुगमन गर्न छुट्टै टोली परिचालन गर्ने भएकोे छ ।
विभागका महानिर्देशक उपेन्द्र रायले भदौ अन्तिम सातादेखि दैनिक ३ वटा अनुगमन टोलीले नियमित बजार अनुगमन गरिरहेको र चाडपर्वका समयमा बढी मिसावट र कैफियत हुनसक्ने भएकाले अनुगमनलाई प्रभावकारी बनाउन थप टोली परिचालन गरिएको जानकारी गराए।
विभागले मतहतका कार्यलयले खाद्य उद्योग, दाना उद्योग, होटल–रेष्टुरेन्ट, खाद्य पसल, पिउनेपानी, दुध लगायतमा गरेको अनुगमनमा केहीमा कैफियत भेटिएकाले उनीहरुमाथि कारवाही प्रक्रिया अघि बढाइएको समेत जनाएको छ ।
वि.सं.२०७७ असोज २५ आइतवार १७:२४ मा प्रकाशित






























