२५ असोज, काठमाडौँ । २० राजनीतिक दलहरु सरकार विरुद्ध एकजुट भएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै २० सङ्गठनहरुले कार्यगत एकता गरेको जनाएका छन् ।
वर्तमान सरकारबाट राष्ट्रघात, जनघातका काम भएको भन्दै परिवर्तनको पक्षमा लामबद्ध हुनुपर्ने महशुस गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ संयुक्त प्रेस विज्ञप्ति :
२० राजनीतिक सङ्गठनको कार्यगत एकताको बैठक यही २०७७ आश्विन २४ गते सम्पन्न भयो । उक्त बैठकले लिएका केही महत्वपूर्ण निर्णयहरुबारे यस प्रेस विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
१) के.पी. ओली नेतृत्व सरकारको पालामा भएका तमाम प्रकारका राष्ट्रघात, जनघातबाट आक्रोशित नेपाली जनता परिवर्तनको पक्षमा लामबद्ध हुँदै गएको पाइएको छ । यसका निमित्त फेरि अर्को जनआन्दोलनको आवश्यकता पनि सर्वत्र महशुस भइरहेको छ । अर्कातिर कोरोनाको कहरबाट आक्रान्त नेपाली जनता सङ्क्रमण बढ्न जाने किसिमको आन्दोलनमा सावधानी अपनाउनुपर्ने विषयमा पनि सचेत भएको पाइन्छ । यी सबै पक्षमाथि ध्यान दिँदै हाललाई सङ्घर्षसम्बन्धी निम्न निर्णयहरु लिइएको छ :–
(क) एम.सी.सी.को खारेजी, नेपालको वास्तविक नक्साअनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९ मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोध, निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गर्दै यही आउँदो आश्विन २९ गते दिनको १ बजे माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गर्ने । यस दौरानमा कोभिड–१९ सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्ने ।
(ख) केन्द्रमा भएको समझदारी र स्थानीय समस्याहरुलाई समावेश गरी कार्यगत एकताको आह्वानमा स्थानीय स्तरमा पनि सङ्घर्ष अघि बढाउने ठेगान गरिएको छ ।
२) नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै उक्त प्रतिबन्ध अविलम्ब हटाउन यो बैठक सरकारसँग जोडदार माग गर्दछ ।
३) २० राजनीतिक सङ्गठनहरुको कार्यगत एकतामा ने.क.पा. (माओवादी) लाई पनि समावेश गरिएको छ । अब यो २१ सङ्गठनको कार्यगत एकता बनेको छ ।
बैठकका सञ्चालक सी.पी. गजुरेलले यतिखेर नेपालमा विद्यमान सरकार र राज्यव्यवस्थाको समेत विकल्पको खोजी भइरहेको अवस्थामा हामीले आत्मगत शक्तिको तयारी गर्दै एउटा भरपर्दो विकल्प प्रस्तुत गर्ने काममा सक्रियतापूर्वक लाग्न सबैसँग अनुरोध र अपिल गर्दै, बैठकमा उपस्थित भएर यसको सफलतामा योगदान पु¥याउनु हुने सबैलाई धन्यवाद दिँदै बैठकको समापन गर्नुभयो ।
कार्यगत एकतामा आवद्ध सङ्गठनहरु :
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी), ३. नेकपा (माले), ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. राष्ट्रिय जागरण मञ्च, ९. जनसमाजवादी पार्टी, १०. नेकपा (संयुक्त), ११. राष्ट्रिय जागरण परिषद्, नेपाल १२. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १३. नेकपा (बोल्शेविक), १४. राष्ट्रवादी केन्द्र, नेपाल, १५. एम.सी.सी. खारेज अभियान, १६. पुष्पलाल अध्ययन समाज, १७. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १८. माक्र्सवादी एकता अभियान, १९. नेकपा (माक्र्सवादी), २०. नेकपा माक्र्सवादी (पुष्पलाल) र २१. ने.क.पा. (माओवादी) ।
सांकेतिक तस्विर
वि.सं.२०७७ असोज २५ आइतवार १९:४३ मा प्रकाशित






























