काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव दर्ता भएको विषयमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच झण्डै डेढ घण्टा जति छलफल भएको हो ।
नेकपा स्रोतले जनाएअनुसार भेटमा प्रचण्डले घटना तत्काल सच्याउन आग्रह गरेका थिए ।
‘जे गरियो त्यो राम्रो भएन, घटनाबाट गलत सन्देश गएको छ, यसले पार्टीलाई एकताबद्ध गराउन सहयोग गर्दैन्’, प्रचण्डलाई उद्धत गर्दै स्रोतले भन्यो, ‘यो घटनालाई तत्काल सच्याउनुस ।’
आइतबार एकाएक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्व नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ओली पक्षीय नेता तथा हालका प्रदेश सहइन्चार्ज यामलाल कँडेलको नेतृत्वमा शाहीविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने अधिकांश सांसद पूर्वएमाले पक्षका छन् । १८ सांसदमध्ये ३ जना भने पूर्वमाओवादीका सांसद पनि छन् ।
वि.सं.२०७७ असोज २६ सोमवार १२:२२ मा प्रकाशित






























