काठमाडौं । बुधबार गरिएको मन्त्रिपरिषद पुनर्गठनमा उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर पोखरेलको जिम्मेवारी खोसिएको छ । पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइए पनि कार्यविभाजनमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको छ ।
रक्षाको जिम्मेवारी ईश्वरबाट खोसेर प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले लिएका छन् । योसँगै पोखरेलको हातमा अब कुनै मन्त्रालयको जिम्मेवारी छैन् ।
किन खोसियो मन्त्रालय ?
ईश्वर पोखरेल जिम्मेवारीमा रहेदेखि नै पटक–पटक विवादमा पर्दै आएका थिए । रक्षाको जिम्मेवारीमा रहेका पोखरेलको सेनासँग पनि सम्बन्ध बिग्रिएको थियो ।
पछिल्लो समय कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा लिने सन्दर्भमा नेतृत्वमा रहेपनि उनले आशातित काम गर्न सकेनन् । बरु उल्टै विवादित निर्णय गरेर चर्चामा आए ।
मेडिकल सामाग्री खरिद प्रकरणमा उनले खेलेको भूमिकाले समग्र सरकार नै बदनामसमेत भएको छ । सेनालाई मेडिकल सामाग्री खरिद गर्न दिने विषयले पनि अर्को विवाद जन्माएको छ ।
अनेकन विषयमा विवादमा जोडिएसँगै पोखरेलसँग प्रधानमन्त्री स्वंय असन्तुष्ट रहेको चर्चा चलेको थियो । पोखरेलको सन्दर्भमा सत्तारुढ पार्टीभित्र पनि असन्तुष्टी छ ।
पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा जिम्मेवारी तोकिनु र हालको जिम्मेवारी खोसिनुलाई कारबाहीको अर्थमा पनि विश्लेषण गरिएको छ ।
वि.सं.२०७७ असोज २८ बुधवार १८:४५ मा प्रकाशित






























