स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी दशैं–तिहारमा पार्टी गतिविधि स्थगन गर्ने निर्णय गरेका छन् । बुधबार दुवै दलको तर्फबाट बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे ‘पारस’ र कांग्रेस जिल्ला सभापति बुद्धिराज राना (कुमार)ले संयुक्त रुपमा सार्वजनिक गरेको विज्ञप्तीमा चाडबाडको बेला नियमित हुँदै आएको शुभकामना आदान–प्रदान तथा सामुहिक भेटघाट नगर्ने निर्णय जानकारी गराइएको हो ।
‘नजिकिदैं गरेको महान् पर्व विजया दशमी र दिपावलीलाई मध्यनजर गर्दै राजनैतिक दलहरुले गर्ने शुभकामना आदान–प्रदान, सामूहिक भेटघाट, पार्टी प्रवेश कार्यक्रम, चियापान र सामुहिक रुपमा हुने सांगठनिक कार्यक्रमहरुलाई दशैं एंव तिहारसम्मलाई स्थगन गर्ने निर्णय गरिएको छ’ जारी संयुक्त विज्ञप्तीमा भनिएको छ ।
दुवै दलले आफ्ना मातहतका कमिटीलाई पनि पार्टी गतिविधि नर्गन परिपत्र गर्ने निर्णय गरेका छन् । दुवै दलले महामारी नियन्त्रण लिन जिल्ला प्रशासनले गर्ने कार्यमा सहयोग गर्न पनि अपिल गरेका छन् ।
विज्ञप्तीमा अगाडि भनिएको छ, ‘आ–आफ्नो मातहतको कमिटीलाई परिपत्र गर्ने र जिल्लामा हुने आवतजावतलाई नियन्त्रण गर्ने स्थानीय प्रशासनको कार्यलाई समेत सहयोग गर्ने आम पार्टी पंक्ति साथै स्याङ्जाबासी समुदायमा हार्दिक अपिल गर्दछौं ।’
विज्ञप्तीमार्फत यसपटकको चाडबाड घरमै बसेर मनाउन पनि आग्रह गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै जाँदा जिल्लामा दुई पार्टीले गरेको यस्तो निर्णय सराहनीय देखिन्छ । देशमै पहिलो पटक भएको यस्तो निर्णयलाई स्थानीय पनि स्वागत गरेका छन् ।
यस्तो छ नेकपा र कांग्रेसले सार्वजनिक गरेको संयुक्त विज्ञप्ती

वि.सं.२०७७ असोज २८ बुधवार २१:०५ मा प्रकाशित






























