५ कार्तिक, काठमाडौं । जुगेडा कैलाली अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सीमा क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रणका लागि शनिबार राति करिब साढे १० बजे उक्त पोष्टबाट नियमित गस्तीमा खटिएका दुवै जना सम्पर्क विहिन भएपछि उनीहरुको खोजी गर्ने क्रममा हत्या गरी मोहना नदीमा फालेको अवस्थामा प्रहरी सहायक निरीक्षक विकको आइतबार र प्रहरी जवान साँउदको मंगलबार शव फेला परेको थियो । घटना पस्चात अनुसन्धानमा सम्लग्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राज कुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र सोही उपमहानगरपालिका-११ का २५ वर्षीय गोपाल भन्ने राम गोपाल राना रहेका छन् ।
सीमामा अबैध सामानहरुको तस्करी गरिरहेका तस्करहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले योजनाबद्द रुपमा धारिलो हतियार प्रहार गरी दुवै जनाको हत्या गरेपश्चात करिब ४ सय मिटर टाढा मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले शव फाली उनीहरु फरार भएको प्रहरिले जानकारी दिएको छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार ११:२३ मा प्रकाशित






























