२१ कात्तिक, साइप्रस । साइप्रसमा अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।
उच्चशिक्षा अध्ययनका लागि साइप्रस पुगेका २१ वर्षीय रोशन अधिकारीले बुधबार (नोभेम्बर ४) का झुण्डिएर आत्महत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।
पोखरा घर भई हाल निकोसियाको स्ट्रोभोलोसमा बस्दै आएका अधिकारी गत वर्ष अक्टोबरमा साइप्रसको सिटी युनिटी कलेजमा अध्ययनका लागि पुगेका थिए । उनी आफ्ना काकाका छोरासँग बस्दै आएको बताइएको छ ।
पछिल्लो समय विश्व व्यापी कोरोना महामारी र त्यसले विश्व अर्थतन्त्रमा पुर्याएको असरका कारण रोजगारी गुम्दै गएको अवस्थामा अधिकारीले पनि डिप्रेसनका कारण यस्तो कदम उठाएको हुनसक्ने अनुमान गरिएको छ ।
स्मरण रहोस् गत सेप्टेम्बरमा पनि काभ्रेकी ४४ वर्षीया मिना तामाङले आत्महत्या गरेकी थिइन् ।
यस्तो दुःखद तथा अकल्पनिय घटनाले साइप्रसको नेपाली समाज स्तब्ध भएको भन्दै जस्तो सुकै परिस्थिति र निरासमा पनि सकारात्मक सोचका साथ अघि बढ्न प्रवासी नेपाली एकता मन्च साइप्रसका का सचिव केशब ठकुरीले लेखेका छन् ।
उनले पछिल्ला समय प्रवासमा आत्महत्या गर्ने नेपालीहरु संख्या बढ्दै गएको बताउँदै सरकार र सम्बन्धीत निकायको यसबारेमा ध्यानाकर्षण समेत हुनु अति आवस्यक रहेको बताएका छन् ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १५:१४ मा प्रकाशित


























