
१० मंसिर, काठमाडौँ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको खबर सँगै देशमा के अनिष्ठ हुने हो भन्ने त्रास बढेको छ । मंसिर ९ गते मंगलबार शिलामा मध्यान्ह १ः४५ बजेदेखि पटक पटकको समयमा ३ः५४ बजेसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखा चरिकोटले प्रेस वक्तव्य मार्फत जानकारी गराएको छ ।
मन्दिरमा पसिना आएपछि देशमा अनिष्ठ हुने भयले प्रचलित परम्परा अनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पुजा पाठ गरेका छन् ।
शिलामा पसिना आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय सुरक्षा निकायले मन्दिर पुगी भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको बैठक बसेको र बैठकले आज(बुधबार) राष्ट्रपति समक्ष दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको जनाइएको छ ।
भीमेश्वरमा पसिना आएपछि देशमा केही अनिष्ठ हुन्छ भन्ने विश्वास रहि आएको छ । अनिष्ठ नआवोस् भन्नका लागि मन्दिरमा पुजा गर्ने र राष्ट्रप्रमुखलाई भगवानको महाप्रसाद पठाउने व्यवस्था गरिँदै आइएको छ ।