काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालयलाई समेत थाहा नदिई राजनीतिक प्रस्तावको पुस्तक वितरण गरेका छन् । प्रचण्डले आफ्नो मातहतबाट प्रदेश र जिल्ला तहमा पुस्तक वितरण गरेका हुन् ।
नेकपाको केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार उक्त पुस्तकबारे अध्यक्ष प्रचण्डले पार्टी महासचिव र कार्यालय सचिवद्वयसँग कुनै समन्वय गरेका छैनन् । ‘यो महासचिवलाई पनि थाहा छैन्, दुईवटा कार्यालय सचिवलाई पनि थाहा छैन्, यो उहाँ (प्रचण्ड) अध्यक्षको मात्रै जानकारीमा तयार पारिएको हो’, रिजालले संसार न्यूजसँग भने ।
नेकपाभित्र विवाद चर्किरहेको बेला पार्टी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावसहितको ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएको पुस्तक वितरण गरेका हुन् । पुस्तकमा सचिवालय बैठक बसाउनको लागि प्रचण्डसहितका ५ सचिवालय सदस्यले अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र, ओलीले प्रचण्डसहितका सचिवालय सदस्यलाई दिएको जवाफको पत्र, पुनः प्रचण्डले ओलीलाई दिएको जवाफको पत्र र ७० औं सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव समेटिएको छ ।
कस्तो नेकपामा प्रतिवेदन बाँड्ने अभ्यास ?
कार्यालय सचिव ईश्वरी रिजालका अनुसार नेकपाका कुनै पनि चिज बाहिर पठाउनु परे वा सार्वजनिक गर्नुपरे निश्चित विधि र अभ्यासलाई पालना गर्नुपर्छ । उनका अनुसार सामान्यतया महासचिवसँग समन्वय गर्दै केन्द्रीय कार्यालय सचिवसँगको समन्वयमा सार्वजनिक गर्न मिल्छ ।
तर, प्रचण्डको प्रतिवेदन सामान्य कार्यालयीक विधिलाई समेत वास्ता नगरी बाँडिएको छ । ‘नेकपाको विधि विधानअनुसार बाहिर पठाउने चिजहरु, सामान्य व्यक्तव्य जारी गर्नुपरे कार्यालय सचिवको नामबाट पनि जारी हुन्छ, तर अपानी, प्रतिवेदन, विशेष सर्कुलर यस्ता महासचिवले तयार गर्नुहुन्छ जहाँ दुईवटा अध्यक्षले हस्ताक्षर गर्नुहुन्छ’, कार्यालय सचिव रिजाल भने, ‘सँगै कार्यालयलाई पनि जानकारी गराउने परिपाटी छ तर, यो (प्रचण्डको पुस्तक) बिलकुल केन्द्रीय कार्यालयसँग जानकारी नभई बाँडिएको छ ।’
यस्तो छ प्रचण्डले बाँडेको पुस्तक
वि.सं.२०७७ मंसिर १० बुधवार १४:०६ मा प्रकाशित






























