१२ मंसिर, गुल्मी । गुल्मीको ईश्मामा भएको जीप दुर्घटनामा एकै गाउँमा ४ सहित ५ जनाको मृत्यु भएको छ । जीपमा रहेका अन्य ३ जना गम्भीर घाईते भएका छन् ।
आज बिहान इस्माबाट तम्घास जाँदै गरेको लु १ ज ११६६ जीप इस्मा गाउँपालिकाको वडा नं ४ को हुल भन्ने ठाउँमा दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै ३ गम्भीर घाईते भएका हुन् । जिपमा चालकसहित ९ जना सवार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मृत्यु हुनेमा इस्मा गाउँपालिका ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी, ३० वर्षीया बसन्त दर्लामी र मालिका गाउापलिका ५ की ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएको ईश्मा प्रहरी चौकीले संसारन्युजलाई जानकारी दिएको छ । जीपका चालक बुद्ध बस्नेत सुकसल रहेका छन् भने घाईतेहरुलाई जिल्ला अस्पताल तम्घास पठाइएको छ ।
प्रहरी चौकीका अनुसार जीपको ब्रेक फेल भएपछि भएको उक्त दुर्घटनामा जीप ४ सयमिटर तल खसेको थियो ।
वि.सं.२०७७ मंसिर १२ शुक्रवार ०९:३५ मा प्रकाशित






























