
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी फुटिहाल्छ भनेर नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छ । सोमबार गृहजिल्ला पुगेका उनले पार्टीभित्र हुने बहस र छलफलबाट फुटिहाल्छ भनेर नआत्तिन आग्रह गरे ।
खनालका अनुसार पार्टी फुटाउन वर्तमान संविधान तथा कानूनले पनि सहयोग गर्दैन् । ‘पार्टी कानुन, संविधानबमोजिम फुटाउन सक्नुपर्छ । संविधानले पार्टी फुटाउन दिँदैन, हामी पार्टी फुटाउने पक्षमा छैनौं, बहस छलफलबाट हामी पार्टीलाई बलियो बनाउन चाहन्छौं, बहस, छलफलबाट आत्तिनु पर्दैन’, खनाल भनेका छन्, ‘ठूल्ठूला बहस गर्ने शास्त्रीय परम्परा हो, ऋषिमुनिहरू बहस गर्थे ।’
खनालले नेकपा फुटिहाल्छ र मेरो रोटी सेक्न पाउँछु भन्ने कतिपयको सोंच व्यर्थ रहेको पनि टिप्पणी गरे । उनले भने, ‘नेकपा फुटिदिन्छ कि, मैलेचाहिँ ठूलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ,रोटी बेलिसकेको हो भने पनि सेकाउने ठाउँ पाउनुहुन्न ।’
नेकपाभित्र देखिएको पछिल्लो विवादले पार्टीलाई एकताबद्ध गराउन र रुपान्तरण गर्न सहयोग पुग्ने खनालको भनाई छ ।