२१ मंसिर, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल सरकारको निसाना छाप प्रयोग गरी गैह्र सरकारी संस्थाले ‘मन्त्रालयको प्रतिवेदन’ भनि सार्वजनिक गरिएको भन्ने समाचारप्रति प्रेस विज्ञप्ति जारी गरी गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था गोल्बल एक्सन नेपाल नामक गैह्र सरकारी संस्थाद्वारा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले २०७५ माघ १ मा प्रधानमन्त्री समक्ष पेश गरेको प्रतिवेदन भन्दै नेपालको निसाना छाप प्रयोग गरी गत शुक्रबार शिक्षा मन्त्रालयको नामबाट प्रकाशन गरिएको प्रतिवेदन र यसलाई सार्वजनिक गरेको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
अनाधिकृत रुपमा मन्त्रालयको नाम र नेपाल सरकारको निसाना छाप प्रयोग गर्ने उक्त गैह्र सरकारी संस्थालाई कानुनी कारबाही अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
साथै उक्त संस्थासँग मन्त्रालय र अन्तर्गतका निकायहरुबाट कुनै पनि शैक्षिक कार्य गराउन कुनै पनि प्रकारको सिफारिस नहुने शिक्षामा संलग्न विकासका साझेदार सबैलाई जानकारी समेत गराइएको छ ।