काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १३८ नेता तथा कार्यकर्ता जेल चलान भएका छन् । प्रतिबन्धपश्चात विभिन्न मुद्दामा पक्राउ परेका १३८ जना जेल चलान भएका हुन् ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार प्रदेश १ र २ बाट सबैभन्दा बढि जेल चलान भएका छन् । जनाइएअनुसार प्रदेश १ बाट ३६ र प्रदेश २ बाट ३१ जना जेल चलान भएका छन् ।
बागमती प्रदेशबाट ६, गण्डकीबाट २, लम्बिनीबाट १२, कर्णालीबाट ७, सुदुरपश्चिमबाट २४ र उपत्यकाबाट २० जना विभिन्न मुद्दामा जेल चलान भएका छन् । प्रतिबन्धपश्चात हालसम्म १३८ जना विभिन्न मुद्दामा जेल चलान भएको प्रहरीले जनाएको छ ।

हालसम्म झण्डै २ हजार पक्राउ
प्रतिबन्धपश्चातको झण्डै दुई वर्षको अवधिमा प्रतिबन्धित नेकपाका १ हजार ९ सय ८२ जना पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । जसमध्ये १ हजार ७९८ जना रिहा पनि भएका छन् ।
हाल विभिन्न मुद्दामा ४६ जना प्रहरी हिरासतमा रहेको जनाइएको छ ।
२०७५ फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले नेकपाका गतिविधि राजनीतिक भन्दा आपराधिक भएको ठहर गरेको थियो ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार १२:०५ मा प्रकाशित






























