२५ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार गुराँस गाउँपालिका ५ दैलेखका ८७ वर्षीय पुरुषको विहिबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
सास फेर्न समस्या भएपछि प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ आइसीयुमा मंसिर १५ गते भर्ना भएका उनमा सोहि दिन कोरोना परीक्षणको नमुना पोजेटिभ देखिएको थियो । बुधबार उनको रगतमा सुगरको मात्रा उच्च देखिएपछि इन्सुलिनमार्फत् उपचार गरिए पनि विहिबार बिहान उनको मृत्यु भएको हो ।
हाल उनको शब जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको समन्वय र नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ ।
आज मृत्यु भएका ती पुरुषसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको पनि महाशाखाले जनाएको छ । file photo
वि.सं.२०७७ मंसिर २५ बिहीवार १२:०५ मा प्रकाशित






























