२९ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसले सरकार विरुद्ध आज देशव्यापी सडक प्रदर्शन गर्दैछ । आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
कुन नेतालाई कहाँको जिम्मेवारी ?
पार्टी सभापति शेरबहादुर देउवाले हेटौंडामा र वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाण्डौमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।
त्यस्तै, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालाई सम्बोधन गर्ने छिन् ।
महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, अर्का सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, र पूर्वसहमहामन्त्री डा. रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्कीमा हुने विरोध सभालाई सम्बोधन गर्ने काँग्रेसले जनाएको छ ।
देशमा सरकार सर्वसत्तावादी हुँदै गएको, भ्रष्टाचार बढेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्य माथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ ।