
२० मंसिर, काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसले आज भएको देशव्यापी विरोध प्रदर्शनमा सहभागी सबैलाई विशेष धन्यवाद दिएको छ ।
साँझ प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सर्वसत्तावाद विरुद्ध जनमत प्रकट गर्न प्रदर्शनमा सहभागी सबैलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।
उनले उत्साहजनक सहभागिताले पार्टीलाई नवीन उर्जा मिलेको बताउँदै यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने जनाएका छन्।
‘आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु । प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु ।’ विज्ञप्तिमा उल्लेख छ ।