
१ पुष, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्रीलाई संसद अधिवेशन बोलाउन बाध्य पार्न आजै निवेदन दिन पार्टी सभापतिलाई आग्रह गरेका छन् ।
पूर्व मन्त्रीसमेत रहेका नेता थापाले सामाजिक सञ्जालमार्फत पार्टी सभापति तथा शीर्ष नेताहरुसँग यस्तो आग्रह गरेका हुन् ।
उनले आज बस्ने पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा बरालिएका प्रधानमन्त्रीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पार्न निवेदन दिनुपर्ने जनाएका हुन् ।
त्यस्तै उनले उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजान नेताहरुलाई आग्रह गर्दै संसदमा उपसभामुखको निर्वाचन गर्न पनि बाध्य पार्नु पर्ने बताएका छन् ।यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको उनको ठहर छ ।
‘संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ। उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ। उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ।’ भनेका छन् ।