
२ पुस, काठमाडौं । इटालियन सिरी ए अन्तरगत तएराति भएको खेलमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । रोनाल्डोले पेनाल्ल्टीमा गोल गर्न नसक्दा युभेन्टस्ले एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेको छ ।
युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरी भयो । पहिलो हाफकाे २९ औं मिनेटमा फेडेरिको चिएसाको गोलबाट खेलमा अग्रता लिएको युभेन्टस्ले दोस्रो हाफको ५७ औं मिनेटमा रेमो फ्रउलरले एटलान्टाको लागि गोल गर्दा खेल बराबरी भएको थियो । ६१औं मिनेटमा पेनाल्टी पाएर खेलमा अग्रता लिने मौका पाएपनि स्टार खेलाडी रोनाल्डोले गोल गर्न नसक्दा युभेन्टस् बराबरीमानै रोकिन पुग्यो ।
बराबरीपछि १२ खेलमा ६ जित र ६ बराबरीको नतिजाका साथ २४ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमै यथावत छ । ११ खेलबाट १८ अंक रहेको एटलान्टा आठौं स्थानमा छ ।
एसि मिलानपनि बराबरीमा रोकियो
यस्तै सिरी ए को अंक तालिकाको शिर्ष स्थानमा रहेको एसी मिलान पनि बराबरीमा रोकिएको छ । मिलान जेनोअको घरेलु मैदानमा २-२ को बराबरीमा रोकिएकाे हो । बराबरीसँगै १२ खेलमा ८ जित र ४ बराबरी खेल्दै २८ अंकका साथ मिलान शिर्ष स्थानमा रहेको छ ।