
चिसो मौसम सुरु भइसकेको छ । नेपालमा असोज अन्तिमतिरबाट चिसोको मौसम सुरु हुने भएपनि मुख्यतः बढी चिसो हुने महिनाको रुपमा पुस र माघलाई लिइन्छ । चिसो मौसममा पानी तथा झोलिलो खाने कुराको कमीका कारण छालामा सुख्खापन आउछ । यस्तो बेलामा आफ्नो सुन्दर र नरम छालालाई कसरी बचाउने भन्ने विषयमा स्वास्थ्य विज्ञहरु यस्तो सल्लाह दिन्छन् ।
चिसो मौसममा बढी हातखुट्टा, ओठ फुट्नु तथा सुख्खापन बढी आउँछ । चिसोमा सबैका लागि घाम प्यारो हुन्छ । घाम ताप्नाले शरिरमा केही हदसम्म न्यानो भएको महसुस हुन्छ । अनि घामबाट भिटामीन डि पनि प्राप्त गर्न सकिन्छ । तर, केही घण्टासम्म घाममा बस्दा छालामा नराम्रो असर पर्नसक्छ । छालामा अल्ट्राभ्वाइलेट किरण र चिसो हावाको असर पर्दछ ।
नुहाउनासाथ मोस्चुराइजरको प्रयोग गर्नुहोस्
स्वस्थ्य विज्ञका अनुसार छालामा नरमपना ल्याउनका लागि नुहाउनासाथ तत्कालै मोस्चुराइजर क्रिमको प्रयोग गर्नु् राम्रो हुन्छ । साथै क्रिम भन्दा पनि राम्रो नरिवलको तेल प्रयोग गर्न सुझाउँछन् स्वास्थ्यविज्ञ । जाडोको मौसममा स्क्रब प्रयोग नगर्नु नै राम्रो मानिन्छ ।
हीटर ताप्ने तथा तातोपानी प्रयोग कम गर्नुहोस्
चिसोको मौसममा धेरैजसो तातो पानीको प्रयोग हुन्छ । साथै दिउसो घाम ताप्नुको अलावा विहान बेलुका इलेक्ट्रिक वा ग्यास हीटर ताप्ने गर्दछौं । तर स्वास्थ्य विज्ञका अनुसार हीटर तथा तातो पानीको धेरै प्रयोगका कारण शरिरमा रहेको प्राकृतिक तेल निस्कने हुनाले यसले छालामा रुखोपन ल्याउने सम्भावना हुन्छ ।
दिनहुँ ८ देखि १० गिलास पानी पिउनुहोस
त्यसो त चिसो मौसममा पानी पिउन मन लाग्दैन । तर, हाम्रो शरिरको स्वास्थ्यका लागि पानी पिउनु अति आवस्यक हुन्छ । पानी कम पिउँदा छालामा नरमपना कम हुने हुनाले दिनहुँ ८ देखि १० गिलास पानी पिउनु अति राम्रो हुन्छ । पानीले शरिरमा रहेको अनावस्यक टक्सिन बाहिर निकाल्न सहयोग गर्दछ ।
भिटामीन सी भएको खानेकुरा खानुहोस्
चिसो मौसममा छालाको नरमपनाको लागि भिटामीन सियुक्त खानेकुरा खानु अति फाइदाजनक हुन्छ । यसले छालालाई स्वस्थ्य राख्नुका साथै इम्युनिटी पावर बढाउन सहयोग गर्दछ । भिटामीन सी यस्तो प्राकृतिक एन्टी अक्सिडेन्ट हो जसले छालालाई अल्ट्राभ्वाइलेट किरणबाट हुने हानीबाट बचाउन सहयोग गर्दछ । जस्तै टमाटर, सुन्तला, किवी, कागती लगायतका फलफूल खान सकिन्छ ।
कडाखालको साबुन प्रयोग नर्गनुहोस्
स्वास्थ्य विज्ञका अनुसार चिसो मौसममा कडा खालको साबुन भन्दा नरम खालको ग्लिसरिन युक्त साबुनको प्रयोग गर्नु अति राम्रो मानिन्छ । साथै जुन साबुनको पिएच ५ं५ हुन्छ त्यस्तो साबुन प्रयोग गर्दा राम्रो हुने बताइन्छ । त्यसले छालामा नरमपना राख्न सहयोग गर्दछ ।