गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष कुल आचार्यले बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० को फाइनल्समा उपबिजेता बनेका नेपाली युवा सन्तोस साहलाई ‘कलिनरी एम्ब्यासडर’ घोषणा गर्न माग गरेका छन् ।
मास्टर सेफ प्रोफेसनल्स फाइनल्समा नेपाली खाना प्रस्तुत गरेर नेपाललाई संसारभर चिनाएको भन्दै आचार्यले साहलाई ‘कलिनरी एम्ब्यासडर’ घोषणा गर्न नेपाल सरकार तथा नेपाल पर्यटन बोर्डसँग आग्रह गरेका हुन् ।
बधाई तथा आगामी दिनमा उत्तरोत्तर प्रगतिको कामना गर्दै आचार्यले प्रतियोगितामा नेपाली खानाबाट नेपाललाई संसारभर चिनाउँदै नेपालका विभिन्न क्षेत्र र समुदायको खाना प्रस्तुत गरेर साहले राष्ट्रिय एकतालाईसमेत बलियो बनाएको बताएका छन् ।
बिहिबार साँझ भएको फाइनल प्रतियोगितामा नेपाली सेफ साह शीर्ष तीन(टप टेन) मा पर्न सफल भएका थिए । उक्त प्रतियोगिताको उपाधि भने बेलायतको एसेक्सका आलेक्स वेवले जितेका छन् ।
सिरहा कर्जन्हाका ३५ वर्षीय साह विगत १० वर्षदेखि लण्डनमा सेफ छन् । १५ वर्षको उमेरदेखि सेफ बनेका साहले प्रतियोगितामा नेपाली खानाका विभिन्न परिकार बनाएर प्रस्तुत गरेका थिए ।
वि.सं.२०७७ पुस ३ शुक्रवार ०९:१४ मा प्रकाशित






























