५ पुष, काठमाडौँ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारबाही गर्नुपर्ने ठहर गर्दै सो प्रस्ताव केन्द्रीय समितिमा लाने निर्णय गरेको छ । ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष ओलीले पार्टी निर्णय उल्लंघन गरेको ठहर गर्दै उनीमाथि अनुशासनको कारवाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको हो ।
त्यसका लागि पुस ७ गते केन्द्रीय समिति बैठक बोलाइएको जानकारी पार्टी प्रवक्ता नारायणजी श्रेष्ठले दिए ।
ओलीले संसद विघटन गरेर लोकतन्त्रलाई नै खतरामा पार्ने काम गरेकाले अनुशासनको कारवाही गर्नुपर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकले सरकारको संसद विघटनको कदम अस्वीकार समेत गरेको छ । उनले भने ‘सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भएको ठहर गर्दै त्यसलाई अस्वीकार गर्ने निर्णय लिइएको हो ।’
श्रेष्ठका अनुसार सरकारको कदमविरुद्ध नेकपाले कानुनी उपचार खोज्ने निष्कर्ष निकालिएको छ । पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
फाइल तस्विर
वि.सं.२०७७ पुस ५ आइतवार १८:१५ मा प्रकाशित






























