back
CTIZAN AD

ओलीको मात्रै होइन् प्रचण्डको कदम पनि प्रतिगामी हो

वि.सं.२०७७ पुस १२ आइतवार

681 

shares

ओली सरकारद्वारा संसद विघटन र नयाँ चुनावको घोषणा

यहि मिति २०७७ पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटनको सिफारिस गरी राष्ट्रपतिद्वारा अनुमोदन भईसकेको छ । वास्तवमा सो घटना सरकारी नेकपाभित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप उत्पन्न भएको तथ्य सर्वविदितै छ । ओली समूह र दाहाल–नेपाल समूहबीचको सत्तासंघर्षमा संसदको विघटनको अस्त्र प्रयोग गरिएको छ । सबैलाई थाहा छ, ओली र दाहालको गठबन्धनको औचित्य संसदीय सत्ता र फासीवाद थियो । उनीहरु दुवै गुटलाई एकीकृत गराउने, लडाउने र मारामार गराउने सबै एउटै साम्राज्यवादी केन्द्रहरु थिए । रुपमा ओली र दाहालको लडाईँ भएपनि सारमा नेपाललाई अस्थिर बनाउने साम्राज्यवादी वा उत्तरसाम्राज्यवादी नीति नै निर्णायक बनेको छ । संसद विघटनको घोषणा पछि संसदीय राजनीतिमा रुवाबासी चलेको छ । अब यो विवाद संवैधानिक वा असंवैधानिक भन्ने बहस सर्वोच्च अदालतमा पुग्नेछ । अबका केही महिना सबैको ध्यान सर्वोच्च अदालततिर जाने निश्चित छ ।

सरकारी नेकपाको विभाजन

संसदीय सत्ता लिप्सा र व्यक्तिगत टकरावका कारण सरकारी नेकपा विभाजित बनेको छ । विभाजनको औपचारिक घोषणा अब दुवै समुहले आ–आफ्नो केन्द्रीय समिति बैठक बसालेर गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाल समुहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरेको घोषणा गरेका छन् भने ओलीले प्रचण्ड, प्रवक्ता नारायणकाजीमाथि कारबाही गरेको घोषणा गरेका छन् । अब सरकारी नेकपाको वैधता कसले पाउने भन्ने विषयमा निर्वाचन आयोग र सर्वोच्च अदालतद्वारा निर्धारण हुनेछ । तर, यसबीच कसको पक्षमा वैद्यता जान्छ भनेर तत्कालै भन्न सकिने अवस्था छैन् । प्रचण्ड–नेपाल समुहमा साबिकका धेरै नेताहरु जोडिएको देखिएपनि ओलीले सत्तालाई प्रयोग गरेर के गर्छन् टुंगो छैन् ।

संसद पुनर्स्थापनाको माग

प्रचण्ड–नेपाल समूह र अन्य संसदीय दलले एकताबद्ध रुपमा संसद पुनर्स्थापनाको माग राख्दै आन्दोलन गर्ने योजना बनाएका छन् । जसको सुरुवात प्रचण्ड–नेपाल समुहले शुक्रबारदेखि नै गरिसकेको छ । अब लडाईँको केन्द्र सर्वोच्च अदालत हुने पनि निश्चित छ । प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटनको घोषणा संवैधानिक कि असंवैधानिक भन्ने बहसमा संसदीय राजनीतिले कोल्टे फेर्ने छ । यदि सर्वोच्च अदालतले संसद विघटनको घोषणालाई असंवैधानिक ठहर गरेमा फेरी पनि संसद ब्यूतिनेछ । तर, अदालतले यो विनम्रलाई कार्यकारीको अधिकार ठानेमा ओलीले बाजी मार्नेछन् । वास्तवमा अब यो विनम्र कानुनी मात्र नभएर राजनीतिक मुद्दा भएकाले अदालतको अवधारणाले नै ठोस दिशा दिने छ ।

संसद पुनर्स्थापना वा नयाँ संसदीय चुनाव दुवै प्रतिगामी कदम

नेपालमा राजनीतिक अस्थिरताको मुख्य स्रोत भनेकै संसदीय व्यवस्था हो । राजनीतिक अस्थिरताको स्रोत बनेको संसदीय व्यवस्थाको पूनर्रावृत्ति कदापी समाधान होइन् । अहिलेको संसदकै कुरा गर्यौं भने, त्यहाँ भेडाको बथानभन्दा फरक शैलीका पात्र छैनन् । उनीहरु आफ्नो गुट र स्वार्थभन्दा माथि उठ्ने खालका पनि छैनन् । त्यसैले आफ्नो गुट र स्वार्थभन्दा माथि नउठ्ने त्यस्ता पात्रबाट देशलाई निकास दिने सम्भावना रहन्न ।

अहिलेको सरकारी नेकपाभित्रको मुख्य लडाई खासगरी ओलीका विरुद्ध दाहाल र नेपालको गठजोड थियो । सबैलाई थाहा थियो, सहमति नभए केपी ओलीले संसद विघटनको अस्त्र प्रयोग गर्नेछन् । तर, कसैले पनि गुटबाट माथि उठेर जोगाउनु पर्छ भनेर सोंच्न सकेनन् । सबैले आ–आफ्नो गुटका डम्फु बजाईरहे । सांसदहरु ओली र दाहाल गुटमा दौडीरहे । गुटभन्दा बाहिर अस्तित्व देख्ने कोही भएनन् । त्यहाँ निषेधको राजनीति शुरु भएको थियो । त्यहाँको राजनीतिक दृष्टिकोण फासीवाद थियो । हामीले देख्यौँ, त्यहाँको सत्ता संघर्षमा मित्रतापूर्ण अन्र्तविरोध थिएन शत्रूतापूर्ण थियो । या त ओली जेलमा जाने या त दाहाल नेपाल जेलमा जाने ।

प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णयपश्चात संसदीय राजनीतिमा दुईवटा धार बनेका छन् । पहिलो धार हो— संसद विघटन भएकाले अब नयाँ जनादेशका लागि चुनावमा जाने । उनीहरु भन्दै छन्, लोकतन्त्रमा चुनावको विकल्प छैन् । दोश्रो धार हो— संसद पुनर्स्थापनाको माग । अब संसद पुनर्स्थापना केवल सर्वोच्च अदालतको निर्णयबाट मात्र हुन सक्छ । अब प्रश्न उठ्छ— संसद पुनस्र्थापना भए के होला ? विभाजित सरकारी नेकपाका दुई संसदीय दल संसदीय पार्टीहरुको अंकगणितलाई विश्लेषण गर्ने हो भने संसद पुनस्र्थापनाले देशमा झनै ठूलो अस्थिरता, संकट र अराजकता निम्त्याउने निश्चित छ । फेरी पनि सांसद किनबेच प्रकरणहरुको बिजारोपन गर्नेछ । त्यसो भए के यथास्थितिकै संसदीय चुनावले देशलाई स्थिरता दिन्छ त ? त्यो झनै दुर्घटनातिर जाने निश्चित छ ।

त्यसकारण निष्कर्षमा भन्ने हो भने फेरी यथास्थितिकै निर्वाचनले देशलाई झन ठूलो द्वन्द्व र अस्थिरता तर्फ नै लैजाने छ । समस्या भनेकै संसदीय चरीत्र र फासीवाद हो । अब दलाल संसदीय व्यवस्थाको विकल्प खोज्नु देशलाई सही निकास दिनु हो ।

संसद बाहिर छ ठूलो शक्ति

यो प्रणालीप्रति असहमति राख्ने ठूलो शक्ति छ । जनमतको हिसाब गर्ने हो भने संसदीय व्यवस्थाको विकल्प खोज्ने शक्तिहरुको बहुमत छ । तर, आजको संसदीय व्यवस्थाले तिनीहरुलाई निषेध गरेको छ । संसद बाहिर रहेको क्रान्तिकारी, प्रगतिशील, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्तिलाई राज्यले दमन र निषेध गरेको छ । संसदवादी शक्ति आफैँमा भ्रष्ट र गद्धार छ । संसदवादी शक्ति मूलतः आफ्नै चरित्रका कारण पतन भएको छ । तर, लोकतन्त्रको नाममा पटक–पटक पतन भएकै दल र नेतृत्वलाई पूर्नस्थिापित गर्ने वा पूनरावृत्ति गर्ने कमजोरी भएको छ । देशलाई निकास दिने हो भने अब संसद बाहिरको शक्तिलाई विकल्प दिनुपर्छ ।

नयाँ राजनीतिक प्रक्रियाको शुरुवात गरौँ

अब संसद विघटनलाई नयाँ अवसरका रुपमा बदल्नु जरुरी छ । यो संविधान नमान्ने वा यो दलाल संसदीय व्यवस्थालाई नमान्ने शक्तिलाई केन्द्रमा राखेर नयाँ राजनीतिक शक्ति सन्तुलनको अभ्यास गर्नु जरुरी छ । एउटा नयाँ राजनीतिक प्रक्रियाको शुरुवात गरेर नयाँ र उन्नत राजनीतिक व्यवस्थाको निर्माण गर्नु सबैका लागि हितकार हुनेछ । अब फेरी पनि संसद विघटन, संसद पुनर्स्थापना वा संसदीय चुनावमा जानु आत्मघाती कदमकै निरन्तरता हुनेछ ।

(लेखक पन्त नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटका नेता हुन्)

वि.सं.२०७७ पुस १२ आइतवार १२:२९ मा प्रकाशित

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...