१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्दिका लागि बसालेको जग आगामी वर्षमा देखिने गरी थप उचाईमा पुग्ने बताएका छन् ।
अंग्रेजी नयाँवर्ष २०२१ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तब्यतर्फ थप गतिशील बनाएको बताउँदै राष्ट्रिय समृद्धि तर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा पुग्नेछ । राष्ट्रको अवस्था समृद्ध र जनताको जीवन सुखी बनाउने हाम्रो अभियान सार्थक बिन्दुको अझ नजिक पुग्नेछ,’ प्रधानमन्त्रीद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आगामी वर्ष र दिनहरूमा हाम्रो राष्ट्रियता अझ मजबूत हुनेछ । हाम्रो स्वाधीनताको हामी अझ बढी व्यवहारिक र वास्ताविक अर्थमा प्रयोग गर्दै अघि बढ्ने छौं ।’
त्यस्तै भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूको रक्षा एवं राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने बताउँदै राष्ट्रिय समृद्धिका यी पाइलाहरूलाई उचाईमा पु¥याउने सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहनेछ भन्ने आफूले अपेक्षा गरेको समेत उक्त सन्देशमा भनिएको छ ।
२०२० मा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सामना गर्नु परेको र यसले स्वास्थ्य तथा राष्ट्रको सामाजिक र आर्थिक जीवनमा नकारात्मक असर पु¥याएको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संसारका साधन, स्रोत, प्रविधि र शक्ति सम्पन्न मानिएका देशहरूले समेत यस महामारीका कारण हाम्रो भन्दा कयौं गुणा बढी क्षति बेहोर्नु प¥यो । हामीले कोभिडसँग लड्ने क्षमताको हिसाबले कमजोर र अझ शून्यप्रायः अवस्थामा रहेको स्वास्थ्य संरचनालाई यसैबीचमा निर्माण गरी कोभिड–१९ को क्षति तुलनात्मक रूपमा न्यून गर्न सफल भयौं । यस संक्रामक महामारीबाट नागरिकहरूलाई बचाउन सरकारले अवलम्बन गरेका उपायहरूलाई साथ दिंदै सुरक्षित रहन म सबैमा आह्वान गर्दछु ।’
वि.सं.२०७७ पुस १७ शुक्रवार ०९:३१ मा प्रकाशित






























