२५ पौष, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (पौष २५ गते, शनिबार) हुँदैछ ।
बैंकको पौष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४औं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा हुनेछ । सो सभा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ११.२५ प्रतिशत बोनस शेयर र ४.२६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १३ गतेदेखि पौष २५ गतेसम्म बैंकको बुकक्लोज गरेको छ । त्यसैले, पौष १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७७ पुस २५ शनिवार १४:०८ मा प्रकाशित





























