१२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षले संघर्षका थप कार्यक्रमको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा प्रतिनिधिसभा विघटन गरिएसँगै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्दै आएको सो समूहले माघ नौ गते उपत्यकामा विशाल जुलुस तथा सभा आयोजना गरेको थियो ।
पार्टीको केन्द्रीय संघर्ष समितिको निर्णय अनुसार आगामी संघर्षका कार्यक्रमहरुमा माघ १३ गते सिठी जुलुस गर्ने, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिसभाका सदस्य, विघटित प्रतिनिधसभाका सदस्य र प्रदेशसभाका सदस्यहरुले लगातार दैनिक धर्ना दिने, माघ १६ गते सहिद दिवसको दिन दिउँसो १ बजे शान्तिबाटिकामा जम्मा भएर जुलुश सहित लैनचौर पुगेर श्रद्धान्जलि कार्यक्रम गर्ने, माघ १५ गते बुटवलमा, १६ गते विराटनगरमा र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गरिने र उक्त विरोध प्रदर्शन तथा सभामा अध्यक्षद्धय लगायत वरिष्ठ नेताहरुको सहभागिता हुनेछ ।
त्यसैगरी प्रदेश समितिहरुले पनि आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने तथा माघ २३ गते काठमाडौंमा वृहत युवा र्याली आयोजना गरिने, माघ २६ गते देशव्यापी मशाल जुलुश गरिने, माघ २८ गते काडमाडौंमा विरोध प्रदर्शन र सभा गरिने पनि सोमबार पार्टीद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
वि.सं.२०७७ माघ १२ सोमवार ११:३३ मा प्रकाशित






























