१२ माघ, काठमाडौँ । पैञ्युँ क्षेत्रका वरिष्ठ समाजसेवी जयवल्लभको सम्मानका लागि पर्वतको पैञ्युँ गाउँपालिकालाई अनुरोध गरिने भएको छ ।
स्व. जयवल्लभको नवौँ पुण्य तिथिका अवसरमा हातेमालो अभियन्ताहरुद्वारा आयोजित एक श्रद्धाञ्जली कार्यक्रमममा सहभागिहरुको निर्णय अनुरुप सो अनुरोध हुने भएको हो ।
श्रद्धाञ्जली कार्यक्रमका संचालक हातेमालो अभियन्ता मित्र रानाका अनुसार पैञ्युँको वडा नं ५ मार्फत पैञ्युँ गाउँपालिकालाई वालिङ–हुवास मोटारबाटोको मुख्य सडकबाट मोडिने चोकलाई ‘जयवल्लभ चोक’ वा भूसालथाेकतर्फ जोडिने शाखा सडकलाई ‘जयवल्लभ मार्ग’ भनि कुनै एक नामाकरणका लागि अनुरोध गर्ने निर्णय गरिएको हो ।

वालिङ–हुवास मोटरबाटो तथा विकास सरोकार केन्द्र(२०५७) मा सक्रिय हातेमालो अभियन्ताहरुद्वारा आयोजित कार्यक्रममा सो कार्यक्रमका संयोजक निलकण्ठ तिवारीले परिवार, समाज र राष्ट्रमा सभ्यता सम्प्रेषण गर्ने जयवल्लभ जयवल्लभका ऐतिहासिक योगदान बारे चर्चा गरेका थिए । श्रमशिविरको तयारी देखि श्रमशिविर व्यवस्थापनामा मात्र नभएर डुम्रे भञ्जाङमा कार्यालय नै खोलेर विवादहरु मिलाउँदै हिडेको स्मरण गराएका थिए । भारतमा पनि नेपाली धर्म समाजहरुको स्थापना गर्ने र विपत्तिमा परेका नेपालीको उद्धार गर्ने काम गरेका स्व. जयवल्लभबारे भावनात्मक मन्तव्य राख्दै उनले ‘पैञ्युँका विकासे बा’ को उपनाम प्रस्ताव गरेका थिए ।
कार्यक्रमका अर्का वक्ता भरत वस्यालले सो परिवारको शैक्षिक योगदानबारे चर्चा गरेका थिए भने टेकलाल काफ्लेले ६ महिना डुम्रे भञ्ज्याङमा बस्दा र रहँदाको संस्मरण गराएका थिए । कार्यक्रममा सहभागि धर्मागत भुसाल, छायादत्त न्यौपाने, यामकला काफ्लेले जयवल्लभको सामाजिक भावना र संस्कृति बारेको योगदान सुनाएका थिए ।
परिवारका तर्फबाट जेठा छोरा प्राध्यापक टिकाराम भूसाल, छोरी दुबल बस्याल(मीना) र कान्छा छोरा प्रा.डा, लेखनाथ भूसालले स्व. बुबाको संस्मरणमा समाजका लागि सहयोग र सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा दीपक तिवारी, भिमनाथ रेग्मी, खैसरा काफ्ले, सीता भूसाल, घनलाल काफ्ले, तुलसीराम काफ्ले, नैना भूसाल र नेत्र भूसाल लगायतका अभियन्ता तथा परिवारजनहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७७ माघ १२ सोमवार ११:३३ मा प्रकाशित






























