माघ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिर पुगेर पुजाआजा गरेका छन् । उनले मन्दिरमा पुजाआजासँगै सवा लाख बत्ती पनि बालेका छन् ।
ओली धर्मपत्नी राधिका शाक्यसहित पशुपतिनाथ पुगेका थिए । उनको सचिवालयले जनाएअनुसार ओलीले विश्व शान्ति र राष्ट्र कल्याणको संकल्प लिँदै लाख बत्ती बालेका हुन् ।
कम्युनिष्ट आन्दोलनबाट उदाएका र विभाजित नेपाल कम्युनिष्ट पार्टी अध्यक्षसमेत रहेका ओलीले गरेको पुजाआजालाई राजनैतिक संकेतका रुपमा हेरिएको छ । यहाँ सोही विषयमा नै चर्चा गरिएको छ ।

ओलीको पछिल्लो अभियान नै सनातन धर्म संस्कृतिको पक्षमा
सामान्यतयाः कम्युनिष्टलाई नास्तिक तथा भौतिकवादीको रुपमा हेरिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नेता भएतापनि पछिल्लो समय आफुँलाई नास्तिक वा शुद्ध कम्युनिष्टको रुपमा उभ्याउन छाडेका छन् । उनका पछिल्ला अभिव्यक्ति तथा व्यवहारहरुलाई अध्ययन गर्दा उनि सनातन धर्म, संस्कृति, परम्परा र पहिचानको पक्षमा उभिदै गएको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय ओलीले राजनैतिक सभा, सम्मेलन तथा अन्र्तक्रिया कार्यक्रमहरुमा ‘कम्युनिष्ट’, र ‘माक्र्सवाद’ शब्दको निकै कम प्रयोग गर्ने गरेको पाईएको छ । साथै ओलीले पछिल्लो समयमा माक्र्सवादी तथा भौतिकवादी दर्शन तथा विचारको प्रवद्र्धन पनि गर्न छाडेका छन् ।
माक्र्सवादी चिन्तक तथा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले हिमाली दर्शन नामको पुस्तकमा नेपाल भुगोल पुर्विय दर्शनको विकास भएको ठाउँ हो भनि ऐतिहासिक भौतिकवादी तथ्यहरु पेश गरेका छन् । तर, पछिल्लो समयमा ओलीले भने नेपाल भुगोलमा विकास भएका एतिहासिक विचारहरुलाई भौतिकवादी कोणबाट होइन परम्परावादी हिसावले अपनत्व लिएर प्रवद्र्धन गर्ने अभियानमा लागेको देखिन्छ ।
भारतीय न्युज च्यानल जि टिभीलाई दिएको अन्र्तवार्तामा पनि ओलीले नेपाल भारतको सम्बन्धको ऐतिहासिक परम्परालाई खोतल्ने प्रयास गरे । साथै उक्त सञ्चार माध्यमसँगको कुराकानीमा ओलीले भारतीय बौद्धिकहरुसँग धार्मिक साक्षात्कार गर्न चाहेको बताएका थिए । उनले नेपाल–भारतबीच धार्मिक रुपमा बहस हुन आवश्यक रहेको बताएका थिए । माघ ८ मा आफुँ पक्षीय पत्रकारहरुको भेलालाई सम्बोधन गर्दै उनले सम्मानको परम्परागत संस्कार नै सिकाएका थिए ।
ओलीले सनातनिक हिन्दु संस्कृतिको विकास तथा प्रबद्र्धनका लागि सरकारमा पुगेदेखि नै अप्रत्यक्ष रुपमा अभियान चलाएका छन् । ओलीले पछिल्लो समय राम जन्मभूमि अयोध्या नेपालमै हो भन्ने कुरालाई अगाडि सारे । अहिले चितवनको माडीमा भौतिक तथा अन्य विकासको कामलाई राज्यकै अगुवाईमा अगाडि बढाइएको छ ।
हिन्दु राष्ट्र निर्माण अभियानको संकेत
प्रतिनिधिसभा विघटनसँगै देश राजनैतिक संकटमा फस्दै गएको छ । क्रमशः राजनैतिक ध्रुविकरण हुने सम्भावना देखिएको छ । प्रधानमन्त्री ओलीले आगामी निर्वाचनबाट आफुले नेतृत्व गरेको दलले दुई तिहाई ल्याउने गरि अगाडि बढ्ने दावी गरिरहेका छन् । कुनै राजनैतिक नयाँ अभियान वा कार्यक्रम बिना आन्दोलन वा मतको लागि जनताको व्यापक ध्रुविकरण हुने सम्भावना देखिँदैन त्यसको लागि कुनै न कुनै राजनतिक कार्डको प्रयोग गर्नुपर्ने देखिन्छ ।
माघ १२ गते सोमबारको दिन विहान पशुपतिनाथ मन्दिर पुगेर सबा लाख बत्ति बाल्दै कम्युनिष्ट पार्टीको नेतृत्वले पुजा गर्नुलाई महत्वपुर्ण अर्थमा हेर्न सकिन्छ । नेपालको संविधान २०७२ ले अगाडि सारेको संघियताको विषयलाई कतिपय मञ्चहरु मार्फत उनले तत्कालिन परिस्थितिमा जर्बजस्ति स्विकार्नुपरेको बताएका छन् भने धर्मनिरपेक्षतालाई व्यवहारिक रुपमा अस्विकार गर्दै आएका छन् ।
नेकपा ओली खेमाभित्रका केही कन्जरभेटिभ नेतृत्वहरुले ओलीले धर्मनिरपेक्षता, संघियता र शासकीय स्वरुपको विषयमा यो व्यवस्थालाई नरुचाएको बताउने गरेका छन् । आगामी चुनावमा अधिक मत प्राप्त गर्नको लागि राष्ट्रवाद र धर्मको विषयलाई ओलीले प्रयोग गर्ने पार्टिका केहि व्याक्तिहरुले बताउने गरेका छन् । जसको लागि वातावरण तयार गर्ने काम भइरहेको उनको गतिविधि र पछिल्लो समयमा अभिव्यक्त विचारले देखाएको छ ।
ओलीले चालेको पछिल्लो राजनैतिक कदममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले खुलेर नै समर्थन गरेका छन् भने परम्परावादी राष्ट्रबादी भनिने शक्तिहरुले पनि अप्रत्यक्ष रुपमा समर्थन गरेको देख्न सकिन्छ । देशमा चुलिदै गएको संकटको बीचमा ओलीले पछिल्लो समय व्यक्त गर्ने गरेको विचार र पशुपतिनाथमा गरेको पुुजालाई आगामी दिनमा उनले हिन्दुराष्ट्र निमार्णको विषयमा कुनै थप कदम चाल्न सक्ने संकेतका रुपमा बुझ्न सकिन्छ ।
वि.सं.२०७७ माघ १२ सोमवार १५:२९ मा प्रकाशित
























