१४ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड र ओली समूह दुवै पक्षले पार्टीलाई चिराचिरामा पार्न खोजिरहेको बताएका छन् ।
पार्टी एकताको राष्ट्रिय अभियानका संयोजक समेत रहेका उपाध्यक्ष गौतमले पार्टी एकताको राष्ट्रिय अभियान घोषणासभालाइ सम्बोधन गर्दै एकजना देशको सरकार प्रमुख प्रधानमन्त्री र अर्को त्यो सरकार निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पार्टीको नेता तथा अध्यक्ष रहेको अवस्थामा अहिले दुवैले पार्टीलाई चिराचिरा पार्न खोजेको बताए ।
‘जनताको आशा निराशमा परिणत भएको छ, पार्टी कार्यकताहरु निरासमा डुबेका छन्, चारैतिर वितृष्णा पैदा भएको छ,। एकथरीले निर्वाचनबाट बहुमत ल्याएर छोड्छौं भन्नु भएको छ भने अर्को थरीले निर्वाचन हुनै दिन्नौ त्यसका लागि प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्छ दुईवर्ष पछिमात्र चुनाव हुनुपर्छ भनेर लाग्नु भएको छ ।’

गौतमले पार्टी एकताको राष्ट्रिय अभियानलाई एतिहासिक कदमको सुरुवात गर्न लागेको बताउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेको तर कानुनी रुपमा अझै नफुटिसकेको समेत बताए ।
‘नेपालका दुई ठूला पार्टीहरुको हैसियत नेपालको राजनीतिलाई तरंगित गर्ने मात्र नभएर ती दुई पार्टीको एकताले संसारलाई तरंगित गरेको र निर्वाचनको माध्यमबाट संसारको लागि पहिलो उदाहरणस्वरुप निर्वाचनमा बहुमत हासिल गरेको बताए ।
‘त्यो पनि दुई तिहाइका साथ सरकार बनाउने ठाउँमा पुगेको यो पार्टी, यसको गौरव र गरिमा झन बढ्दै जानेछ जनताले समृद्दि प्राप्त गर्ने छौं, हाम्रो देशको इज्जत प्रतिष्ठा सगरमाथा जत्तिकै अग्लो हुनेछ । सारा संसारका मान्छेहरु हाम्रो देशको नयाँ विशेषतामा निर्माण भएको समाजवाद हेर्न आउनेछन् र हामी पनि खुसी हुनेछौं भन्ने अवस्था सिर्जना भइरहेका बेला पार्टी विभाजन भएको छ,’ घोषणासभालाई सम्बोधन गर्दै उपाध्यक्ष वामदेवले भने ।
दुइ पार्टीलाई एकतावद्ध गर्नका निम्ति आफूहरुले १३ वर्षसम्म लगातार मेहनत गरेको तर, तीन वर्ष पनि नभइकन विभाजन भएकोमा दुःख व्यक्त गरे ।
उनले निर्माणका लागि कति समय लाग्छ भन्ने यहिबाट थाहा हुने र विर्गानका लागि कति थोरै समय लाग्छ भन्ने सबैले बुझ्नुपर्ने बताउँदै निर्माण जुटेर हुने र ध्वंश फुटेर हुने बताए । ‘बग्यांएर पड्काइदियो भने सारा ध्वंश हुन्छ । तर निर्माणका लागि लाखौ करोडौ जनता जुट्नुपर्छ । जुट्नु भन्दा ठूलो निर्माणको शक्ति अर्को हुँदैन ।’ उनले भने ।
वि.सं.२०७७ माघ १४ बुधवार १३:५८ मा प्रकाशित






























