१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले माघ २८ गते काठमाडौंमा वृहत प्रदर्शनगर्ने भएको छ ।
उक्त समूहको आज बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमका विरुद्धमा वृहत प्रर्दशन गर्ने भएको हो ।
यसअघि उपत्यका तथा जिल्लागत रुपमा प्रदर्शनका कार्यक्रमहरुको घोषणा गरिसकेको उक्त समूहले २८ गते उपत्यकामा अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने भएको हो ।
विहिबार बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको ठहर गर्दै यसलाई अझ उचाईमा पुर्याउनेमा जोड दिइएको बताएको छ ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका थिए ।

अध्यक्षद्धयले आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्न सबैलाई आग्रह गरेका थिए ।
अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् ।

बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको बताइएको छ ।
वि.सं.२०७७ माघ १५ बिहीवार ११:५८ मा प्रकाशित






























