back
CTIZAN AD

दरबार हाइस्कूलमा विद्यार्थीका लागि सिट क्षमता बढाइयो

वि.सं.२०७७ माघ १६ शुक्रवार

618 

shares

१६ माघ, काठमाडौँ । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल भानु माध्यमिक विद्यालयको कक्षाकोठामा सिट क्षमता बढाइएको छ ।

नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो । पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो ।

हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः छ विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो । क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ सम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ ।

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यो विद्यालयको भवन विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति भएपछि आकर्षक ढङ्गले पुनःनिर्माण गरिएसँगै नयाँ विद्यार्थी आउने क्रम बढेको हो ।

अहिले भानु माविको कक्षा ५, ६, ७ र ८ मा विद्यार्थी कोटा सङ्ख्या पुगेको छ । कामपा–२७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । भवन निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ विद्यार्थी पठनपाठन गर्ने गरेका छन् ।

विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० मात्र विद्यार्थी रहेका थिए । “अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थी आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षा भरिनेछन्”, उनले भने ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलाकै जस्तो देखिन्छ । नौ रोपनी जग्गामा निर्माण गरिएको विद्यालय भवन चार तले छ । यसमा ६० कक्षाकोठा छन् ।

नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक विद्यालय भवनको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । नयाँ भवनमा प्रयोशालासमेतको सुविधा र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ ।

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्शापासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे ।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठककक्षसमेत व्यवस्थितरूपले निर्माण गरिएका छन् ।

रु ८५ करोड ५९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कूलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कूल पुनः सञ्चालनमा आएको हो । तर कोरोना महामारीका कारण हालसम्म भौतिकरूपमा पठनपाठन भने हुनसकेको छैन ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो ।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कूल रहन गएको हो ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कूल’ स्थापना गरेका थिए । राजा–महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको यो हाइस्कूलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

विसं १९३३ मा रणोद्दीप सिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं १९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजिक सारेका थिए । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको थियो ।
रासस

वि.सं.२०७७ माघ १६ शुक्रवार १०:५३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...