माघ १८, काठमाडौं । ‘श्री ५ को सरकार’ भनेकोप्रति खानेपानी मन्त्री मणि थापाले माफी मागेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले भुलबस श्री ५ को सरकार प्रयोग भएको भन्दै माफी मागेका छन् ।
‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ’, सामाजिक सञ्जालमा उनले भनेका छन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विभाजित नेकपाको ओली पक्षीय भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘नेकपा स्थायी समिति र श्री ५ को सरकारको तर्फबाट…’ भनि सम्बोधन गरेका थिए । जस लगत्तै उनले ‘ए सरी नेपाल सरकारको तर्फबाट म स्वागत गर्नै चाहन्छु’ भनि आफ्नो भनाई सच्याएका थिए ।
शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा…
Posted by Mani Thapa Secretariat on Saturday, January 30, 2021
मन्त्री थापाको उक्त सम्बोधनतर्फ चौतर्फी आलोचना र व्यंग्य भईरहेको छ । गणतन्त्र आएको एक दशकपश्चात उनले गरेको यस्तो सम्बोधनलाई अर्थपूर्णं भनि कतिपयले टिप्पणीसमेत गरेका छन् ।
जसबारे माफी माग्दै उनले भुलबस शब्दको प्रयोग भएको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’
वि.सं.२०७७ माघ १८ आइतवार ११:०६ मा प्रकाशित






























