back
CTIZAN AD

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

वि.सं.२०७७ माघ २६ सोमवार

747 

shares

२६ माघ, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनको क्षमताले धान्न नसकेपछि पाँच मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन ।

नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका–३ दानामा गत हप्तादेखि सञ्चालन गरेको २२० केभी क्षमताको सब–स्टेशनबाट घलेम्दीका साथै मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । दानामा सब–स्टेशन र कुश्माको खुर्कोट जोड्ने प्रशारण लाइन तयार पारेपछि पूर्ण क्षमतामा सञ्चालन र केन्द्रीय ग्रिडमा जोडिएको घलेम्दी हाइड्रोपावरका सञ्चालक प्रमोद श्रेष्ठले बताए ।

“प्रशारण लाइन र सबस्टेशन नपाएर एक वर्षसम्म विद्युत् खेर फाल्दा रु १० करोड र बैंकको ब्याज तिर्दा रु १० करोड नोक्सान भएको छ”, घलेम्दी हाइड्रोपावरका सञ्चालक श्रेष्ठले भने, “राज्यले समयमा पूर्वाधार, अनुकूल नीति र लगानीमैत्री वातावरण बनाउन नसक्दा नोक्सानी व्यहोर्नु र दुःख पाउनुपरेको छ ।’’ निजी क्षेत्रबाट निर्मित म्याग्दीको पहिलो आयोजना घलेम्दीले विसं २०७६ माघ १६ गतेदेखि परीक्षण उत्पादन शुरु गरेको थियो । दानामा २२० केभी क्षमताको सबस्टेशन र दाना–खुर्कोट प्रशारणलाइन तयार नहुँदासम्मका लागि ३३ केभी क्षमताको तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनबाट करीब एक मेगावाट मात्र विद्युत् बिक्री गर्नसकेको थियो ।

घलेम्दीमा हिउँदमा २.५ मेगावाट विद्युत् निस्किएको छ । थापाखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको तीन वर्षपछि केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । प्रशारण लाइन र सबस्टेशन नहुँदा थापाखोलाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको थिएन ।

तेत्तीस केभी क्षमताको बेनी–जोमसोम लाइनको कोवाङ सबस्टेशनको क्षमताले नधान्दा बढीमा ६.८ मेगावाट मात्रै विद्युत् केन्द्रीय लाइनमा जोडेको थापाखोलाले पूर्ण क्षमतामा चलाउन नपाउँदा रु. ९२ करोड आम्दानी गुमाउनु परेको प्रर्वद्धक माउन्ट कैलाश इनर्जीका अध्यक्ष भरत खड्काले बताए । ‘‘हामीले ३८ महिनाअघि थापाखोला निर्माण सकेका थियौँ’’, उनले भने ‘‘२२० केभी क्षमताको दाना सबस्टेशन र प्रशारण लाइन बनेपछि विद्युत् खेर फाल्नुपर्ने अवस्थाको अन्य भयो ।’’ थापाखोलाले दानासम्म यसअघि नै प्रशारण लाइन निर्माण गरेको थियो ।

एकै खोलामा दुई आयोजना

नारच्याङस्थित निलगिरी खोलामा एकै साथ दुई जलविद्युत् आयोजना सञ्चालन भएको छ । एक सय नौ मेगावाट क्षमताको निलगिरी–१ र –२ जलविद्युत् आयोजना निर्माण तीव्र रुपमा अघि बढेको हो । निलगिरी खोला हाइड्रोपावर लिमिटेडले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

मिस्ट्री र रेले खोलाको दोभानस्थित दोभिल्नामा बन्ने निलगिरीखोला–२ जलविद्युत् आयोजनाको बाँधबाट विसं २०७४ देखि पहुँचमार्ग खन्न शुरु गरेको थियो । निलगिरीखोला–१ जलविद्युत् आयोजनाको बाँध रहने हुमखोला जोड्ने पहुँचमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको आयोजनाका इञ्जिनीयर केशव वाग्लेले बताए । ‘‘अधिकांश ठाउँमा अक्करे पहाड फुटाएर १० किलोमिटर दूरीको पहुँचमार्ग निर्माण भइसकेको छ’’, उनले भने, ‘‘थप एक किलोमिटर पहुँचमार्ग खनेपछि हुमखोला सडक सञ्जालमा जोडिन्छ ।’’

बस्तीदेखि टाढा रहेको निलगिरी खोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । पहुँच मार्गको साथै बाँध, सुरुङ र विद्युत् गृह निर्माणको काम पनि धमाधम गरिरहेको इञ्जिनीयर वाग्लेले बताए । हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको ७१ मेगावाट क्षमताको निलगिरी दोस्रोको पाँच किलोमिटर ५०० मिटरमध्ये चार वटा अडितबाट एक हजार ३५० मिटर सुरुङ खनी सकिएको छ । थप एक वटा अडिटबाट सुरुङ खन्ने तयारी भएको निलगिरी दोस्रोको छोटेपामा बाँध र दोभिल्नामा विद्युत् गृह निर्माण सुरु भएको छ ।

कूल ३८ मेगावाट क्षमताको निलगिरी पहिलोको छोटेपामा विद्युत् गृह निर्माण शुरु भएको छ । तीन किलोमिटरमध्ये २०० मिटर सुरुङ खनिसकेको छ । रानीवासमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । रु १३ अर्ब लागत अनुमान गरिएको आयोजनालाई लगानी जुटिसकेको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए ।

सन् २०२२ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना निर्माणमा करीब एक हजार मजदूर परिचालन भएका छन् । निलगिरी पहिलोको विद्युत् गृहबाट निस्कने पानी नजिकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेशन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रशारण लाइन निर्माणको पनि तयारी गरेको छ । दुवै आयोजना ‘रन अफ द रिभर’ प्रकृतिका हुन् । विसं २०४३ मा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण भएको नारच्याङमा गत वर्ष पाँच मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निर्माण भएको थियो ।

कूल ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेँशीगाउँदेखि लेकगाउँ हुँदै रेलेखर्कसम्म १४ किलोमिटर पहुँच मार्ग खनी सकेको छ । चिनियाँ लगानीमा निर्माण हुने १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणस्थल पनि नारच्याङ नै हो । १२ मेगावाट क्षमताको मिस्ट्रिखोला दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाको पनि सर्वेक्षण भइरहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिजलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको उनले बताए ।

जोडियो राहुघाटको सुरुङ र सर्च सफ्ट

रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ र सर्च साफ्टको ब्रेक थ्रु (जोडिएको) छ । रघुगङ्गा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित नं ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोपावर लिमिटेडले जनाएको छ । हाइड्रोपावर नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।

कम्पनीका प्रबन्ध सञ्चालक गणेश केसीले ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङ जोड्ने काम भएको बताए । “आयोजनाको लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो”, उनले भने, “चार वटा अडिटबाट करीब ७०० मिटर सुरुङ निर्माण भएको छ ।” सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ । आकस्मिक रुपमा विद्युत् गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ । राहुघाटको सर्च साफ्टको गोलाई १० मिटर छ । सिभिल ठेकेदार जयप्रकाश एशोसियट्स (जेपी) ले सर्च साफ्ट निर्माण गरेको हो ।

विसं २०७४ मङ्सिर ५ गते रु छ अर्ब ५० करोडमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले सुरुङ, विद्युत् गृह र बाँध निर्माणको काम एकैसाथ अघि बढाएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा विद्युत् गृह निर्माण गरिरहेको ठेकेदारले दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर कच्ची पहुँचमार्ग निर्माण गरेको छ ।

छ किलोमिटर २०० मिटर लामो सुरुङ निर्माण हुने यस आयोजनाको एक किलोमिटर पेनस्टक पाइप जडान गरेर २९२ मिटर उचाइबाट पानी खसाली विद्युत् उत्पादन गर्ने लक्ष्य छ । अधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं. ४ खन्ने कार्य सम्पन्न गरी ति अडिटबाट सुरुङ खन्ने कार्य भइरहेको छ ।

विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२।३५ अमेरिकी डलरमा ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले प्रारम्भिक चरणको काम गरी विस्तृत डिजाइङको कार्यलाई तीव्रता दिएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । हालसम्म राहुघाटको ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।

सन्तोष गौतम (रासस)

वि.सं.२०७७ माघ २६ सोमवार १९:१८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...