२९ माघ, काठमाडौँ । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले नेता गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन सिफारिस गरेको छ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने गत साउनको निर्णय सच्याउन केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरेको हो।
तनहुँ जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेका अनुसार भानु नगरपालिका–१० का काँग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको छ ।
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।
पौडेल र जोशीबीच विभिन्न चरणमा भएको छलफलपछि कारबाही फिर्ता लिइ मिलेर जाने समझदारी भएको बताइएको छ ।
वि.सं.२०७७ माघ २९ बिहीवार ०८:२९ मा प्रकाशित






























