२९ माघ, काठमाडौं । अध्यागमन विभागले विदेश जानका लागि महिलालाई अभिभावक र वडाको सिफारिस अनिवार्य चाहिने भनेर विभिन्न संचारमाध्यममा आएको समाचार भ्रामक भएको भन्दै खण्डन गरेको छ ।
उक्त समाचारमा आएकोृ जस्तो नभइ खाडी तथा अफ्रिकी मुलुकजस्ता जोखिम संभाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारेमा सामान्य जानकारी नभएका महिलाहरुका लागि आवस्यक पर्न सक्ने गरी आन्तरिक छानविन कार्यदलले सुझाव दिएपनि निर्णय नभइसकेको विभागले बताएको छ ।
विभागले यस विषयमा कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयका बारेमा आम जनमानसहरु कुनै भ्रममा नर्पन समेत विहिबार जारी विज्ञप्तिमा भनेको छ ।
‘यस विषयमा हालसम्म कुनै पनि निर्णय नभएको जानकारी गराउँदै यस्ता विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरि नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यहोरा समेत सम्बन्धीत सबैमा जानकारी गराइन्छ ।’ विभागका प्रवक्ता तथा निर्देशकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ माघ २९ बिहीवार ११:३७ मा प्रकाशित





























