१ फागुन, नवलपुर । गैडाकोटमा एकै परिवारका आठ सदस्यले आँखादान घोषणा गरेका छन् । संविधान सभा सदस्य गुणाखर बस्यालका परिवारसहित उनका ८ जना आफन्तले आँखा दान गर्ने घोषणा गरेका हुन् ।
गैडाकोट नगरपालिका १ स्थित प्रतिभाचोक निवासी बस्यालले स्वर्गिय आमा टिका बश्यालको ११ औँ दिनको पुन्य तिथिको अवसर पारेर आँखा दान गर्ने घोषणा गरेका थिए । गुणाखर बस्यालको आमाको ८९ बर्षको उमेर मृत्यु भएको थियो ।
उनिहरुले भरतपुर आँखा अस्पतालसँग कानुनी प्रकृया पुराएर आँखा दान गर्ने घोषणा गरेका हुन् । भरतपुर आँखा अस्पतालकी डाक्टर छाया श्रेष्ठको रोहबरमा कानुनी प्रकृया पूरा गरिएको वस्यालले बताए ।
आँखा दान गर्नेमा गुणाखर बस्यालसँगै मृतककी बुहारी खिमा बस्याल, छोरी भुवानी तिवारी, रन्नता भुर्तेल, सावित्रा काफ्ले, ज्वाई त्रिलोचन काफ्ले, नाती जिवन तिवारी, भान्जा बालानन्द पाठक र भान्जी बुहारी विमला पाठक रहेका छन् ।
सोही अवसरमा स्व. बुवा आमाको स्मृतिमा ५ लाख राशिको पृथ्वी टिका स्मृति प्रतिस्ठान स्थापनाको घोषणासमेत गरिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य तथा गण्डकि प्रदेशका इन्चार्ज देबेन्द्र पौडेल (सुनिल)ले वस्यालको परिवार पुरै आन्दोलनमा लागेको र स्वर्गीय बुबाआमाको ठूलो योगदान रहेको बताएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु किसन शर्मा र रबिन्द्र अधिकारी तथा वाम बुद्धिजीवी प्रेम रिमाल, जसपाका गण्डकी प्रदेश संयोजक मोति रिजाल तथा रास्ट्रीय जनमोर्चाका जिल्ला संयोजक दिपक पाण्डेले समाज रुपान्तरणका लागि योगदान दिने बश्याल परिवारप्रति आभार व्यक्त गरेका थिए ।
सो श्रद्धाञ्जली कार्यक्रमको संचालन नेकपा प्रदेश कमिटि सदस्य धन प्रसाद सापकोटाले गरेका थिए भने अध्यक्षता जिल्ला सचिब मित्रसरण शर्माले गरेका थिए ।
वि.सं.२०७७ फागुन १ शनिवार ०८:२३ मा प्रकाशित































