फागुन १, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै भ्रम मुक्त हुन आग्रह गरेका छन् । शनिबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदहरुको रगतको अबमुल्यन हुन नदिने बताए ।
‘ति हजारौं शहीदहरु मरे भन्ने ति प्रतिक्रियावादी शत्ताधारीले सोंचेका रहेछन् भने ती ठूलो भ्रममा छन्, केपी ओली ती हजारौं शहीदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सक्छु भन्ने ठानेका छन् भने उनी साह्रै ठूलो भ्रममा छन्’, प्रचण्डले भने, ‘उनी छिट्टै भ्रम मुक्त हुँदा राम्रो हुन्छ ।’
उनले भ्रममुक्त नभए हजारौं शहीदहरुका कंकालनै ओली सत्ताविरुद्व धावा बोल्ने चेतावनी दिए । ‘नत्रभने ति हजारौं कंकालहरु चिहानबाट बाहिर निस्कछन्, यो परिवर्तनलाई रोक्न खोज्नेका विरुद्व धावा बोल्नेछन्’, प्रचण्डले भने ।
प्रचण्डले सात दशक लामो संघर्ष र हजारौंको बलिदानबाट प्राप्त उपलब्धि खतरामा रहेको भन्दै फेरि एकपटक बलिदानका लागि तयार रहन संकल्प गर्नुपर्ने बताए ।
वि.सं.२०७७ फागुन १ शनिवार १५:५५ मा प्रकाशित






























