६ फागुन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र भनेको केवल आवधिक निर्वाचन र नेताहरुको शासन प्रणाली मात्र नभइ सामाजिक जीवनपद्धतिसमेत भएको बताएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले यस्तो टिप्प्णी गरेका हुन् ।
‘प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवनपद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्र अटुट रहन्छ, शुभकामना सन्देशमा भनेका छन् ।
प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था भएको बताउँदै उनले विश्वमान्य प्रजातन्त्रको सिद्धान्त अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने हामी सबैको आकांक्षा रहेको उल्लेख गरेका छन् । हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटुट रहने बताएका छन् ।
उनले निषेध र विभेदको राजनीतिले मुलुक जटिलतामा फस्दै गएको टिप्प्णी गरेका छन् । ‘सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको’ उनको भनाइ छ।
उनले ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट हुनेमा जोड दिएका छन् ।
‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपाली जनताले गरिरहेका छन्।’
वि.सं.२०७७ फागुन ६ बिहीवार १८:५६ मा प्रकाशित






























