
फागुन ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिए भनि आएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा राजीनामा बारे आएको कुरालाई खण्डन गर्दै उनले यस्तो सुझाब दिएका हुन् ।
उनले राजीनामाबारे फिँजाइएको हल्ला खेदजनक भएको पनि बताएका छन् । उनले अदालतको फैसला अघि माहोल गिजोल्न षडयन्त्रपूर्वक हल्ला फिँजाइएको बताएका छन् ।
‘महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिंजाइएको गलत हल्ला खेदजनक छ । प्रतिनिधि सभाको विघटन बारेमा परेका रिटहरूमा सर्वोच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहोल गिजोल्न षडयन्त्रका साथ सक्रिय तत्वको हल्लाको प्रभावमा नपर्न अनुरोध गर्दछु ।’, सामाजिक सञ्जालमा उनले भनेका छ ।
महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा गर्नुभएको भनी आज बिहानैदेखि फिंजाइएकाे गलत हल्ला खेदजनक छ ।
प्रतिनिधि सभाकाे विघटन बारेमा परेका रिटहरूमा सर्वाेच्च अदालतले गर्ने फैसला अघि विद्यमान सहज माहाेल गिजाेल्न षडयन्त्रका साथ सक्रिय तत्वकाे हल्लाकाे प्रभावमा नपर्न अनुराेध गर्दछु ।— Surya Thapa (@ThapajiSurya) February 23, 2021
प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र महान्यायाधिवक्ता खरेलबीच सम्बन्ध बिग्रिएको कुरा चर्चामा छ । उक्त चर्चा चलिरहेकै बेला खरेलले हालै महान्यायाधिवक्ताका रुपमा गरेको तीन वर्षको उपलब्धि सार्वजनिक गरेका थिए ।
महान्यायाधिवक्ताको उपलब्धी सार्वजनिक भएसँगै राजीनामाको विषयबारे हल्ला फैलिएको हो ।