१६ फागुन, पोखरा । कास्कीका एक प्रधानाध्यापकले आफ्नो घरपायक जागिर र पद जोगाउन दुई वर्षदेखि सात विद्यार्थीलाई बन्धक बनाएर राखेको खुलेको छ ।
कास्कीको मादी गाउँपालिका ६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रध्यानापक ईन्द्र बहादुर थापा मगरले सात विद्यार्थीलाई दुईवर्षदेखि बन्धक बनाएर राखेको खुलेको हो ।
मगरले विद्यालयबाट उम्किन खोजेका ती विद्यार्थीलाई कुटेर सख्त घाईते बनाएपछि घटना बाहिर आएको हो ।
मादी नदी किनारको बाटो खनिरहेका मजदूरहरुले शिक्षक मगरले शुक्रबार कुटपिट गर्दै लछारपछार गरेको देखेपछि गाउँपालिका कार्यालयमा खबर गरेका थिए । प्रहरी सहितको टोलीले घटनाबारे बुझ्दा प्रधानाध्यापक मगरले विद्यार्थीलाई बन्धक बनाएर दयनिय अवस्थामा राखेको पाइएको आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।
स्थानयि विद्यार्थी नभएपछि उनले विभिन्न जिल्लाबाट विद्यार्थी ल्याएर आफ्नै घरमा राखेको पाइएको गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङलेृ बताए ।
अध्यक्ष गुरुङका अनुसार मगरले लमजुङ, तनहुँ लगायतका जिल्लाबाट ४ देखि १४ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए । ‘दिउँसो विद्यालयमा हाजिर गराउने र बिहान बेलुका घरको काममा लगाउँदा रहेछन्’, अध्यक्ष गुरुङले भने, ‘बच्चाहरुलाई मल बोकाउने, बारी खन्ने काममा पनि लगाएको पायौं । खान लाउन पनि राम्रो नदिएको रहेछ ।’
मगरले विद्यार्थीहरुलाई त्यस्तो अवस्थामा राखेको पाइएप्छि वडा प्रहरी कार्यालय राम बजार र सिल्दुजुरे प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ । ४ छात्र र ३ छात्रालाई गाउँपालिका प्रहरी र गैरसरकारी संस्थाले उद्धार गरेर पोखरास्थित एक संस्थाको संरक्षणमा राखेको बताइएको छ ।
वि.सं.२०७७ फागुन १६ आइतवार ०९:५९ मा प्रकाशित





























