१८ फागुन, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा स्थापना भएको ‘पैञ्यू कला प्रतिष्ठान’ले कला, संस्कृति र सभ्यताको जागरणसँगै वातावरणीय कार्यक्रमहरु सहित गति बढाइरहेको छ ।
‘संस्कृतिमा विविधता, विविधतामा एकता’ भन्ने मूल नारासहित स्थापना भएको सो प्रतिष्ठानले पालिका स्तरीय नृत्य प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । समाजमा भएका विकृति, विसंगति, भ्रष्टाचार मानवअधिकार हनन, महिला हिंसा, स्वास्थ्य समस्या, बालबालिकाको अधिकार, व्यवसायिक तथा उत्पादनमूलक शिक्षाको आवश्यकता, सरसफाई, दुव्र्यसनी जस्ता विषयमा शिक्षामूलक गीत, संगीत, सडक नाटक, वृत्तचित्र, म्यूजिक भिडियो, अन्य विद्युतीय प्रसारण एवम् सञ्जालहरुको उपयोग गरी समाज विकास र सभ्यतामा योगदान पु¥याउने उद्देश्य सोे प्रतिष्ठानको रहेको छ ।
राष्ट्रियस्तरमा स्थापित नृत्य निर्देशक गोविन्द प्रभात स्वयम्ले नेतृत्व गरी स्थानीय कलाप्रेमीहरुलाई संगठित गर्दै सो प्रतिष्ठानको लक्ष्य हासिल तर्फ उन्मुख भैरहेको छ । राजधानीमै नाम, काम र दाम हुने तपाईजस्तो प्रतिभा गाउँ पस्नुमा के रहस्य छ ? भनि संसारन्यूजले गरेको प्रश्नमा प्रभात भन्छन् ‘लकडाउनपछि गाउँ गएँ, माटोको माया सँधै थियो, त्यसपछि अहिले गाउँको मायाले झनै बढी तान्न थाल्यो । स्थानीय स्तरमा केही नमुना गर्न सकिन्छ की भनेर पैञ्यू कला प्रतिष्ठानमार्फत जमर्को गरेको हो ।’
भावि योजना के रहेको छ भन्ने अर्को प्रश्नमा उनी भन्छन् – ‘साथ, सहयोग र ऐक्यबद्धता प्राप्त गर्न सके पैञ्यूमा कलाप्रेमी(सबै विधा) लाई तालिम, स्थानीय समुदाय, जनजाती र भेषभूषामा आधारित पुराना संस्कृतिहरुको सम्बद्र्धन, पैञ्यूमा सांस्कृतिक महोत्सव, वातावरण सम्बन्धी जनचेतना र विकास निर्माणमा हैसे जुटाउने गरी अभियानलाई अघि बढाउने सोच राखिएको छ ।’
विगत २७ वर्षदेखि विद्यालय, कलेज, प्रतिष्ठानहरु तथा फिल्महरुमा नृत्य निर्देशकको काम गर्दै आएका प्रभात राजधानी काठमाडौँमा भन्दा गाउँमा समय दिन थालेपछि पैञ्यूका कलासंस्कृतिप्रेमीहरु खुशी भएका छन् । उनले स्थापना गरेको सो प्रतिष्ठानको औपचारिक उद्घाटन फागुन ४ गते गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले गरेका थिए ।
वि.सं.२०७७ फागुन १८ मंगलवार ०९:४२ मा प्रकाशित






























