१९ फागुन, काठमाडौं । मलेसियामा मृत्यु भएका नेपाली कामदारका परिवारलाई आजीवन रकम पाउने बाटो खुलेको छ ।
नेपाल र मलेसियाबीच सामाजिक सुरक्षा सहजीकरणमा हस्ताक्षर भएपछि यो सुविधा पाउने बाटो खुलेको हो । उक्त सम्झौतामा हस्ताक्षरपछि कामदारका परिवारले आजीवन ६० प्रतिशतसम्म रकम पाउने बताइएको छ ।
बैदेशिक रोजगार बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ट र मलेसियाको सामाजिक सुरक्षा संस्था (सास्को) का प्रमुख कार्यकारी अधिकृत मोहम्मदअम्जान बिन दातो अजिज मोहमम्मदबीच हस्ताक्षर भएको बुधबारको कान्तिपुर दैनिकमा होम कार्कीले समाचार लेखेका छन् ।
नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिबिधिहरुको प्रवद्र्धन सम्बन्धी सहकार्यको समझदारी पत्र श्रेष्ठले हस्ताक्षर गरी मलेसिया पठाएका थिए । त्यसमा मोहम्मदले फागुन १४ गते हस्ताक्षर गरेका हुन् ।
क्वालालाम्पुरस्थित नेपाली दूतावासका अनुसार मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म दैनिक तलबको ४० र दुवै नभएर ६० प्रतिशतसम्म रकम पाउनेछन् ।
आमा वा बाबुको दुवैको मृत्यु भएमा दैनिक तलवको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम पनि प्राप्त गर्न सक्ने व्यवस्था रहेको दूतावासले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी स्थायी रुपमा आयआर्जन गर्न असक्षम भएको अवस्थामा श्रमिकले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त हुनेछ । साथै अस्थायी रुपमा काम गर्न असक्षम भएकाले भने आयआर्जन तोकिएको सर्तका अधीनमा रही तलबको ८० प्रतिशत सम्म लाभ प्राप्त गर्न सक्ने दूतावासले जनाएको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार ०९:१२ मा प्रकाशित





























