back
CTIZAN AD

डोको–डालो बुनेरै घर खर्च चलाउँदै नवलपरासीका महिला

वि.सं.२०७७ फागुन १९ बुधवार

2K 

shares

१९ फागुन, नवलपरासी । बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पहाडी गाउँमा महिलाको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । यस क्षेत्रको गाउँभरिका महिलाले डाको–डालो बुन्ने गरेका छन् ।

जिल्लाको पहाडी गाउँमा बाँसको उत्पादन राम्रो हुने भएकाले पनि जीविकोपार्जनका लागि महिला यसतर्फ आकर्षित भएका हुन् । जिल्लाको पूर्वी क्षेत्र गैँडाकोट नगरपालिका–३ भुजेलगाउँका महिलाले डोको–डालो बनाएरै आफ्नो जीवन निर्वाह गर्दै आएका छन् । पुख्र्यौली पेशालाई निरन्तरता दिँदै उनीहरुले डोको–डालो बनाएर बिक्री गर्दै आएका हुन् । दुुःख गरेर डोको–डालो निर्माण गर्ने गरेको भए पनि परिश्रमअनुसारको उचित बजार मूल्य नपाउने गरेको उनीहरुको गुनासो छ । भुजेलगाउँमा डोको बुन्दै गरेको अवस्थामा भेटिएकी ५७ वर्षीया जमुना भुजेल आफू १५ वर्षको हुने बेलादेखि नै डोको, डालो बुन्न शुरु गरेको बताउछिन् । आफ्नो बुवाले सिकाएको डोको–डालो बुन्ने पेशा बुवाको शेषपछि पनि निरन्तरता दिएको भुजेल बताउँछन् ।

“डोको–डालो बुनेर यसको बिक्रीबाट आउने पैसाले नै परिवारको खर्च चल्ने गरेको छ”, भुजेलले भनिन्, “हाम्रो घरखर्च चलाउने पैसा आउने बाटो नै यही हो । यो डोको–डालो कहिले चामलमा बिक्छ त कहिले पैसामा ।” दिनमा दुईवटासम्म डोको–डालो बुन्ने गरेको उनले बताए । गैँडाकोटको पहाडी गाउँको भुजेल बस्तीका अधिकांश महिलाको एउटै पेशाका रूपमा रहेको काम हो डोको–डालो बुन्नु ।

भुजेलगाउँकै सोमीमाया भुजेलको दैनिकी पनि डोको–डालो बुनेर नै बित्ने गर्छ । “घरका लागि आवश्यक सबै खाद्यान्न किनेर खानुपर्छ जसको भाउ हरेक दिन उकालो चढ्दै छ, आफूले बुन्ने डोका–डालाको भाउ भने कहिल्यै बढ्दैन”, भुजेलले भने, “डोको–डालो बुन्न छाड्ने हो भने हामीले पैसाको मुख पनि देख्न पाउँदैनौँ । तर यस पेशाबाट हामीलाई भनेजस्तो र परिश्रमअनुसारको पैसा भने उपलब्ध हुँदैन ।” दुःखअनुसारको आम्दानी नहुने भन्दै सोमीमायाले आफूसँग अरु काम गर्ने सीपसमेत नभएको बताए।

यहाँका महिलाका हातमा अन्य सीप नभएपछि डोको–डालो बुनेर बेच्दा थोरै पैसा कमाइ हुने भए पनि यही काम गर्नुपर्ने उनीहरुको बाध्यता छ । निर्माण गरेको सामग्रीबाट हुने आम्दानीले डोको–डालो बनाउन गर्नुपर्ने परिश्रम र बाँस खरिद गर्न आवश्यक पर्ने पैसासमेत नउठ्ने उनीहरुले गुनासो गरे । तीन वर्षअघि रु १०० मा बिक्री हुने डोकोको मूल्य अहिले पनि बढेको छैन ।

स्थानीय तह तथा किसानका लागि काम गर्दै आएका सङ्घसंस्थाले उनीहरुले निर्माण गरेको सामग्रीको उचित मूल्य निर्धारणसहित बजारीकरणको व्यवस्था गरिदिनुपर्ने भुजेलगाउँकी सुनीमाया गुरुङ बताउँछिन्। उनले भनिन्, “हामीले बुनेको डोको–डालो कहिले रु ७० त कहिले रु ८० मा बेच्नुपर्ने बाध्यता छ, सबैभन्दा धेरै मूल्य भनेको रु १०० सम्म पाउने गरेका छौँ ।” स्थानीय तहले भने किसानको उत्पादनलाई उचित मूल्य दिनका लागि काम भइरहेको बताउँछ ।

दुई वर्ष पहिले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने आश्वासन दिएको गैँडाकोट नगरपालिकाले उनीहरुले उत्पादन गरेको सामग्रीको उचित बजारीकरणका लागि पहल गर्ने बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि नगरपालिकाले बजारीकरणको व्यवस्था र उचित मूल्य निर्धारणको काम गर्ने बताए । उनले भने, “हामीले पहिले त्यस ठाउँको अनुगमन गर्छौँ उनीहरुले निर्माण गरेको सामग्रीको आधारमा त्यसको बजारीकरण गर्नुका साथै ती सामग्रीको उचित मूल्य निर्धारणको काम पनि स्थानीय सरकारबाट हुन्छ ।”

गाउँघरमा घाँसपात गर्न तथा धान चामल ओसारपसारका लागि पुस्तौँ पहिलेदेखि डोको तथा डालोको प्रयोग हुँदै आएको छ । परम्परागत तथा मौलिक पेशा संरक्षणसँगै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि पनि महिलाले निर्माण गरेको सामग्रीको बजारीकरण तथा उचित मूल्य निर्धारणका लागि स्थानीय सरकारको दायित्व भएको स्थानीयवासीको बुुझाइ छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १०:२५ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...