१९ फागुन, काठमाडौँ । २०७५ भाद्र ८ गते नेपाल सरकारबाट गठित राजनैतिक वार्ता टोलीका पूर्व संयोजक सोम प्रसाद पाण्डेयले सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न वार्ता टोली गठन गरेकोमा खुशी व्यक्त गरेका छन् ।
आफूले पहिलेदेखि नै वार्ताको विकल्प छैन भन्दै आएको पुनः दोहो¥याउँदै उनले आफ्नो पदावधि सकिए पनि सो समूहसँग निरन्तर सम्पर्कमा रहेको समेत खुलाएका छन् ।
‘तत्कालिन अबस्थामा र वार्ता टोलीको पदाबधि सकिएपछि पनि नेपालगन्ज, कपिलवस्तु, लुम्बिनी, चितवन, काठमाडौ लगायतका ठाउँहरुमा उक्त समूहको माथिल्लो नेतृत्वसँग निरन्तर रुपमा वार्ता र सम्पर्क गरिरहेको’ उनले खुलाएका हुन् ।
अहिलेको यो वार्ता सोहि वार्ताको निरन्तरता भएको उल्लेख गर्दै उनले सबै पक्षलाई शान्ति प्रक्रियामा गम्भीरतापूर्बक अगाडि बढ्न समेत अनुरोध गरेका छन् ।
सरकारले मंगलबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग वार्ता गर्न वार्ता टोली गठन गरेसँगै विप्लव समूहले पनि वार्ता टोलि गठन गरी आज पहिलो चरणमा वार्तासमेत सम्पन्न भएको छ । वार्तामा के विषयमा छलफल भयो भन्ने कुरा सार्वजनिक नभएपनि आजको वार्तामा विप्लव समूहले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने र पक्राउ परेका कार्यकर्ताहरुको रिहाई शर्तको रुपमा अघि सारेको स्रोतले बताएको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार १२:१८ मा प्रकाशित






























