चैत २, काठमाडौं । नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किएको ९ दिनपछि पहिलो पटक शीर्ष नेताहरुबीच औपचारिक छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा नेताहरुबीच छलफल भएको हो ।
सर्वोच्च अदालतले एमालेलाई ब्यूँताई दिएपछि गुटगत भेला र छलफल गर्दै आएका नेताहरुबीच पहिलो पटक छलफल भएको हो । छलफलमा प्रधानमन्त्री ओली र माधवकुमार नेपालसहित दुवै नेता नजिकका केहि शीर्ष नेताहरु सहभागी छन् ।
छलफलमा ओली पक्षका नेताहरु ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडल र प्रदिप ज्ञवाली सहभागी छन् भने माधव पक्षको तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताहरु सहभागी छन् ।
छलफलले विवाद समाधानको आशा
सर्वोच्चको फैसलासँगै पूर्ववत अवस्थामा फर्किएको एमालेभित्र निकै कटुतापूर्णं विवाद देखिएको छ । यसबीच एमालेभित्रको दुवै पक्षले केन्द्रीय समिति र स्थायी समितिको पनि बेग्ला–बेग्लै बैठक पनि राखेका छन् ।
प्रधानमन्त्री ओली पक्षले गत शुक्रबार केन्द्रीय समितिको बैठक राख्दै पार्टी विधान संशोधनदेखि माधव पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । जसलगत्तै माधव पक्षले केन्द्रीय समितिको बैठक बसाल्दै देशैभरि समानान्तर कमिटी बनाउने र भेला गर्ने बताएको थियो ।
दुई पक्षबीचको निकै कटुतापूर्णं विवादका बीच सोमबार भएको छलफललाई निकै सकारात्मक ढंगले हेरिएको छ । माधव पक्षीय कतिपय नेताहरुले आजको छलफलले पार्टी विवाद समाधान उन्मुख भएको बताईरहेका छन् ।
तर, आजको छलफलमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको अनुपस्थितिले भने निकै प्रश्नहरु उब्जाएका छन् । कतिपयले खनाल र गौतमको अनुपस्थित नहुनुले समस्या बल्झिने बताएका छन् ।
किन अनुपस्थित भए खनाल र बामदेव ?
बालुवाटार स्रोतले जनाएअनुसार आजको छलफलमा खनाल र गौतमसहित अन्य नेताहरुलाई पनि प्रधानमन्त्रीले बोलाएका थिए । तर, खनाल र गौतम स्वंय सहभागी हुन इच्छुक नभएको बुझिएको छ ।
यसअघि सोमबार बिहान खनालले माधव नेपाललाई भेट्दै आफुँ सहभागी नहुने बताएका थिए ।
यता वामदेव गौतमले पनि ओलीको पछिल्लो कदमप्रति आपत्ती जनाउँदै सहभागीता नजाएको बुझिएको छ । गौतमले सोमबार नै आफुँ निकटका नेताहरु बेग्लै भेला बोलाएका छन् ।
वि.सं.२०७७ चैत २ सोमवार १३:३२ मा प्रकाशित





























