
चैत ५, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन कायमै रहेको बताएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेपाल समूहका नेता प्रकाश ज्वालाले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।
उनले यामलाल कँडेलको नेतृत्वमा फिर्ता लिने गरिएको निर्णय गुटगत भएको बताए । उनका अनुसार एमालेको बहुमत पक्ष उक्त निर्णयप्रति बेखवर छ । र सहमत छैन् ।
‘गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं’ सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, ‘यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय होइन। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै छ।’
बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले संसदीय दलको बैठक राख्दै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए । तर सभामुखबाहेक १९ सांसद रहेको एमालेको संसदीय दलमा कँडेलले बोलाएको बैठकमा १० जना मात्रै उपस्थित थिए ।
४० सदस्यीय प्रदेश सभामा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । बहुमत पुर्याउन २१ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहीलाई सरकार टिकाउन थप ८ सांसदको समर्थन चाहिन्छ । यदि एमालेको माधव पक्ष तर्फ बहुमत देखिएको खण्डमा शाहीलाई सरकार जोगाउन सहज हुनेछ ।